काउन्सिलसँग विद्यार्थी’ : जनभावना क्याम्पसका विद्यार्थीसँग प्रेस काउन्सिलको अन्तरक्रिया

|

काठमाडौँ । जनभावना क्याम्पस, चापागाउँ, ललितपुरमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूसँग प्रेस काउन्सिल नेपालको आयोजनामा ‘काउन्सिलसँग विद्यार्थी’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, प्रशासन शाखा प्रमुख रहमतुल्ला मियाँ, शाखा अधिकृत गीता पराजुली तथा अनुगमन अधिकृत महेन्द्रराज सिंहलगायतको सहभागिता रहेको थियो। अन्तरक्रियामा काउन्सिलको कामकारबाही, आचारसंहिता कार्यान्वयन, उजुरी प्रक्रिया तथा मिडिया अनुगमनका विषयमा विद्यार्थीहरूलाई विस्तृत जानकारी गराइएको थियो।

विशेषगरी डिजिटल पत्रकारितामा बढ्दो आचारसंहिता उल्लंघनका घटना, त्यसको निगरानी तथा नियन्त्रणका उपायबारे पनि छलफल गरिएको थियो। साथै नेपालको पत्रकारिताको वर्तमान अवस्था, चुनौती र प्रेस काउन्सिलको भूमिकाबारे गहन बहस भएको थियो।

कार्यक्रममा अध्यक्ष डा. आचार्यले पत्रकारिता क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिँदै आएको बताउनुभयो। उहाँले काउन्सिलको कार्यशैली र अभिलेखालयको स्थलगत अवलोकनमार्फत विद्यार्थीलाई थप जानकारी दिने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

क्याम्पसका शिक्षकद्वय लक्ष्मण दुलाल र सुलोचना बुढाथोकीसहित करिब ३० जना विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूले प्रेस काउन्सिलले पत्रकारिता कसरी अनुगमन गर्छ, पत्रकार तथा मिडियाको पहिचान र अवसरका विषयमा जिज्ञासा राखेका थिए।

कार्यक्रममा शाखा अधिकृत गीता पराजुलीले सहजीकरण गर्नुभएको थियो भने सहभागीका जिज्ञासामा अध्यक्ष डा. आचार्य, उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँ र अनुगमन अधिकृत महेन्द्रराज सिंहले जवाफ दिनुभएको थियो।

२०८३ बैशाख १७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।