अन्तरराष्ट्रिय सम्मेलन–२०२६ सफलतापूर्वक सम्पन्न

|

सुर्खेत / मध्यपश्चिम विश्वविद्यालयमा “अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दीगो भविष्य निर्माण” भन्ने मूल नारासहित आयोजित बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन–२०२६ आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।

मध्यपश्चिम विश्वविद्यालय नेपाल र विरला ग्लोबल विश्वविद्यालय भारतको सहकार्यमा वीरेन्द्रनगर, सुर्खेतमा तीन दिनसम्म सञ्चालन भएको उक्त सम्मेलनमा स्वदेश तथा विदेशका विज्ञ, विभिन्न विश्वविद्यालयका उपकुलपति, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि तथा साझेदार संस्थाका प्रमुखहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सम्मेलन अवधिभर विषयगत सत्र, अनुसन्धानपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रियामार्फत डिजिटल रूपान्तरणका अवसर र चुनौतीसहित विविध विषयमा गहन छलफल गरिएको थियो। सहभागीहरूले बहुविषयगत सहकार्य, ज्ञान आदानप्रदान र अनुसन्धानको स्तर अभिवृद्धि गर्न सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकालेका छन्।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले सम्मेलनमा उठाइएका विषयहरूलाई व्यवहारमा कार्यान्वयन गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गर्नुभयो। उहाँले सम्मेलन सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सक्रियतापूर्वक सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो।

समारोहका अध्यक्ष तथा रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले अन्तरराष्ट्रिय सम्मेलनले विश्वविद्यालयको प्रतिष्ठा र उचाइ अझ बढाएको उल्लेख गर्नुभयो।

उक्त अवसरमा सम्मेलन व्यवस्थापन समितिका संयोजक डा. यदुप्रसाद ज्ञवालीले समग्र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै, प्रमुख वक्ता बेलायतका प्रा. डा. जोनाथन रिक्स र साझेदार निकाय स्याक नेपालका टिकाराम आचार्यले सम्मेलन ऐतिहासिक तथा उपलब्धिमूलक भएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक तथा सम्मेलन व्यवस्थापन समितिका सदस्य सचिव डा. विष्णुकुमार खड्काले गर्नुभएको थियो।

२०८३ बैशाख १४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।