गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

|

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आफूविरुद्ध उठेका प्रश्न र जनचासोलाई मध्यनजर गर्दै नैतिक जिम्मेवारीका आधारमा राजीनामा दिएको बताएका छन्।

गुरुङले २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा आफ्नो शेयरलगायत विषयमा नागरिक स्तरबाट उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको बताएका छन्।

“मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले वक्तव्यमा उल्लेख गरेका छन्। उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको पनि बताएका छन्।

उनले आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै पनि प्रकारको ‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको स्पष्ट पारेका छन्।

गुरुङले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै सञ्चारकर्मी, आम नागरिक र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा अघि बढ्न अपिल गरेका छन्।

साथै, उनले परिवर्तनका लागि त्याग र नैतिक साहस आवश्यक हुने उल्लेख गर्दै भविष्यमा सार्वजनिक जीवन अझ पारदर्शी र उत्तरदायी बन्नुपर्नेमा जोड दिएका छन्।

२०८३ बैशाख ९, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।