ठूला लगानी र नीतिगत सहकार्यमा जोड
काठमाडौं / गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा विदेशमा रहेका नेपालीका विभिन्न मुद्दामा सहजीकरण गर्न आग्रह गरिएको थियो।
संघका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै उनीहरूको अधिकार र सुविधा सुनिश्चित गर्न सरकारलाई पहल गर्न आग्रह गर्नुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूले आफ्नो अनुभव, ज्ञान र पूँजी नेपालको विकासमा उपयोग गर्न सक्ने भएकाले त्यसका लागि आवश्यक नीतिगत सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो। साथै गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, अध्यागमन, सम्पत्ति, बैंकिङ, सवारी साधन, राष्ट्रिय परिचयपत्र तथा मताधिकारसम्बन्धी अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने विषय उठाउनुभयो।

त्यस्तै, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोले समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीहरूको लगानी, सीप, प्रविधि र अनुभव अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विदेशमा रहेका नेपालीहरू नेपाललाई समृद्ध बनाउने सपना बोकेर काम गरिरहेको उल्लेख गर्दै सरकारसँग सहकार्य गर्न संघ प्रतिबद्ध रहेको बताउनुभयो।

भेटका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्थागत सहकार्यमा जोड दिइने बताउनुभयो। उहाँले साना लगानीभन्दा देशलाई रूपान्तरण गर्ने ठूला परियोजनामा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो। साथै विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन सहयोगलाई व्यवस्थित बनाउन कोष स्थापना गर्ने प्रस्ताव समेत अघि सार्नुभयो।

मन्त्री खनालले नागरिकता सम्बन्धी विषयमा सरकार सकारात्मक रहे पनि केही कानुनी जटिलताका कारण थप अध्ययन र कानुन संशोधन आवश्यक हुन सक्ने बताउनुभयो। पोर्चुगलमा रहेका नेपालीहरूको समस्यालाई मानवीय आधारमा समाधान गर्न पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो। भेटमा एनआरएनए पदाधिकारीहरूले नागरिकता, लगानी, श्रम आप्रवासन तथा विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएका थिए। दुवै पक्षबीच आगामी दिनमा सहकार्य र समन्वयलाई थप मजबुत बनाउने सहमति भएको जनाइएको छ।
यसैबीच, एनआरएनए युरोप क्षेत्रीय समितिले २२–२३ जुन २०२६ मा आयरल्याण्डको डब्लिनमा आयोजना हुने १७औँ युरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्रमन्त्री खनाललाई प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा दिएको छ।






