नेपालगन्ज । राष्ट्रिय निर्वाचन पर्यबेक्षण समिति (नियोक) बाँकेले जिल्लामा पर्यबेक्षण गर्ने प्रर्यबेक्षकहरुलाई अभिमुखिकरण गरेको छ ।
नियोक बाँके शाखाको आयोजना तथा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तामाङले निर्वाचनलाई विश्वसनिय बनाउन पर्यबेक्षकको भूमिका महत्वपूर्ण हुने बताए । स्वच्छ, निष्पक्ष, भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न लागि परेको बताउदै उनले सबैले निर्वाचन आचार संहिताको पालना गर्दै व्यवसायिक रुपमा काम गर्न अनुरोध गरे । निर्वाचनमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भन्दै सामुहिक कार्यलाई सबैले भूमिका निर्वाह गरी सम्पन्न गर्ने जिम्मेवारी रहेको बताए ।

यसैगरी अभिमुखिकरणमा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि नियोक प्रदेश समिति अध्यक्ष बसन्त गौतमले पर्यबेक्षण आचार संहिता पूर्ण पालना गर्दै पर्यबेक्षण गर्न सबैलाई अनुरोध गरे । नियोकले प्रदेश, जिल्लासँगै जेनजीहरुलाई समेत पर्यबेक्षकको रुपमा खटाएको बताए ।
अभिमुखिकरणमा पर्यबेक्षणको उद्धेश्य, निर्वाचन पर्यबेक्षकले ध्यान दिनुपर्ने कुराहरु, पर्यबेक्षकको भूमिका, मौन अवधि, निर्वाचन दिन र मतदान सम्पन्न, पर्यबेक्षकले पालना गर्नुपर्ने आचार संहिता, रिपोटीङ प्रक्रिया, कल सेन्टर लगायतका बिषयमा नियोक जिल्ला समिति बाँकेका अध्यक्ष नमस्कार शाह र सचिब हेमराज भट्टले सहजिकरण गरेका थिए । अभिमुखिकरण पश्चात पर्यबेक्षकहरुलाई सपथ ग्रहण नियोक लुम्बिनी प्रदेश समिति अध्यक्ष बसन्त गौतमले गराएका थिए ।
प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बाँकेमा नियोक बाँके मार्फत ११ जना र जेनजी मार्फत १० जना पर्यबेक्षकले जिल्ला भरी पर्यबेक्षण गरिरहेका छन् ।
अभिमुखिकरणमा उपस्थित प्रमुख अतिथि, अतिथि र सहभागिहरुलाई धन्यबाद ज्ञापन सहित अभिमुखिकरणको समापन नियोक बाँके शाखाका पूर्व अध्यक्ष बरिष्ट अधिबक्ता लोक बहादुर शाहले गरेका थिए । कार्यक्रम नियोक बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न भएको हो ।






