इटहरी । कोशी प्रदेशमा जलवायु परिवर्तन, वातावरणीय संरक्षण र सामाजिक न्यायका सवालमा एकीकृत आवाज निर्माण गर्ने उद्देश्यसहित कोशी प्रदेशस्तरीय जलवायु कार्य र न्याय सञ्जाल गठन गरिएको छ ।
क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को समन्वयमा गठन भएको यस सञ्जालले प्रदेशभर क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाहरू, अभियन्ता तथा सरोकारवालाहरूलाई एउटै साझा मञ्चमा जोड्ने लक्ष्य लिएको छ । जलवायु परिवर्तनका असरहरू, बढ्दो प्रदूषण, अव्यवस्थित फोहोर व्यवस्थापन, स्वच्छ हावाको अभाव तथा वातावरणीय अन्यायका विषयहरूलाई प्राथमिकतामा राख्दै सञ्जालले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी पहल गर्ने जनाइएको छ । यस सञ्जालको मुख्य उद्देश्य वातावरणीय संरक्षण, दिगो फोहोर व्यवस्थापन, स्वच्छ हावा प्रवद्र्धन र जलवायु न्यायका मुद्दामा वकालत गर्नुका साथै, जलवायु कार्य र न्यायसँग मेल खाने गतिविधिहरूलाई स्थानीय तहदेखि प्रदेशस्तरसम्म प्रवद्र्धन गर्नु हो ।
सञ्जालले आफ्ना सदस्य संस्थाहरूको मूल कार्यक्षेत्र जेसुकै भए पनि, उनीहरूका गतिविधिहरूमा वातावरणीय सचेतना र जलवायु जिम्मेवारीलाई समाहित गर्ने दिशामा काम गर्नेछ । यसले विभिन्न क्षेत्रका संस्थाबीच सहकार्य र समन्वय बढाउने, साझा अभियानहरू सञ्चालन गर्ने तथा समुदायस्तरमा जलवायु सचेतना विस्तार गर्ने अपेक्षा गरिएको छ ।
बैठकमार्फत सञ्जालको प्रदेशस्तरीय समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा लखन लाल साह चयन भएका छन् । समितिका सदस्यहरूमा चन्द्रमणि गुरागाईं, किरण घिमिरे, रक्षा सिंह, लोक बहादुर बिष्ट, इन्द्र माया विश्वकर्मा, सुजाता कुमारी देव, अनिता खतिवडा, जामुना कोईराला सिग्देल, मालती विश्वकर्मा तथा सुमन कार्की रहेका छन् । विविध पृष्ठभूमिका व्यक्तिहरूको सहभागिताले सञ्जाललाई समावेशी र बलियो बनाउने विश्वास गरिएको छ ।
सञ्जाल गठनको बैठक क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले सहजीकरण गरेका थिए । उनले जलवायु संकटको वर्तमान सन्दर्भमा यस्ता सञ्जालहरूको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै, कोशी प्रदेशमा प्रभावकारी जलवायु अभियानको सुरुवातका रूपमा यस सञ्जाललाई महत्वपूर्ण कदमका रूपमा वर्णन गरे ।
क्लिन अप नेपालले कोशी प्रदेशस्तरीय जलवायु कार्य र न्याय सञ्जालमा नियुक्त सबै सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सञ्जालले आगामी दिनमा नीति वकालत, क्षमता अभिवृद्धि, जनचेतना अभियान र सहकार्यमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै स्वच्छ, हरित र न्यायपूर्ण कोशी प्रदेश निर्माणमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।






