काठमाडौँ। पछिल्लो समय देशभर युवाको सक्रियता र राजनीतिक चेतना बढ्दै गइरहेका बेला युवालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने उद्देश्यसहित नयाँ चेतनामूलक गीत सार्वजनिक गरिएको छ। उद्यमी तथा युवा अभियन्ता सरोज बानियाँको शब्द तथा रचनामा तयार भएको ‘निर्वाचनमा देशैभर युवा आउनु पर्छ, देश मुहार फेर्नलाई युवा जाग्नु पर्छ’ बोलको गीतले युवालाई नेतृत्वमा अघि बढ्न प्रेरित गर्ने सन्देश दिएको छ।
रामजी खाँण र प्रीति आलेको आवाज रहेको गीतमा सुबिन सेन्चुरीको सङ्गीत संयोजन छ। गीतमार्फत् आमनिर्वाचनमा युवाको उपस्थिति अनिवार्य रहेको र संसद्लाई युवामय बनाउँदै नीति निर्माणमा युवाको भूमिका बलियो हुनुपर्ने आवश्यकता औँल्याइएको छ।
विशेष गरी भदौ २३ र २४ गते सम्पन्न जेनजी तथा युवाको आन्दोलनपछि देश नयाँ राजनीतिक बहसतर्फ उन्मुख भइरहेको सन्दर्भमा यो गीत आएको हो। गीतले १६५ वटै निर्वाचन क्षेत्रबाट सक्षम, सचेत र प्रतिबद्ध युवाको प्रतिनिधित्व भए मात्र युवाका हकहित, रोजगारी, शिक्षा र विकासका मुद्दा प्रभावकारी रूपमा उठ्न सक्ने सन्देश प्रवाह गरेको छ।
सर्जक बानियाँका अनुसार संगीत केवल मनोरञ्जनको साधन नभई सामाजिक परिवर्तनको बलियो माध्यम हो। यही सोचका साथ युवालाई मतदान मात्र होइन, नेतृत्व र निर्णय प्रक्रियामा सक्रिय गराउने उद्देश्यले गीत तयार गरिएको हो।






