बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–३ सिमरामा अवस्थित भवानी माध्यमिक विद्यालयका बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई विभिन्न सामग्री वितरण गरिएको छ ।
विभिन्न सहयोगीहरूबाट प्राप्त सामग्री शुक्रबार एक विशेष कार्यक्रमबीच वितरण गरिएको हो । कार्यक्रम बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य चन्द्रकला बि.क., वडा सदस्य आशिष, चर्च पास्टर सोनु बराईली, धर्मगुरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पूर्व अध्यक्ष दिल बहादुर केसी, प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा, ज्याकेट, ऊनी टोपीसहित कापी, कलम, पेन्सिललगायत स्टेशनरी सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ । उक्त सामग्री वितरण कार्यक्रममा डा. बिनोद थापा, नेपालगन्जका धर्बेन्द्र बोहरा, बर्दिया निवासी रन्जित अधिकारी, नेपालगन्जका शमशेर महतरा, बर्दिया निवासी कुल बहादुर बि.क., दिपेन्द्र न्यौपाने तथा धनेश्वर यादवलगायत समाजसेवीहरूको सहयोग रहेको जनाइएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले अपाङ्गता भएका बालबालिकाको शिक्षामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै यस्ता सहयोगले उनीहरूको आत्मबल र अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।






