काठमाडौँ / वरिष्ठ गायक कमल बी.के. निर्मोहीलाई कन्हैया–अन्जना राष्ट्रिय संगीत पुरस्कार २०८२ प्रदान गरिएको छ। आज काठमाडौँमा सम्पन्न विशेष कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पुरस्कारका संस्थापक सुप्रसिद्ध गायक द्वय कन्हैया सिंह परियार र अन्जना गुरुङले पुरस्कार प्रदान गर्नुभएको हो।
५१ हजार रुपैयाँ राशीको यो पुरस्कार गायक निर्मोहीका तर्फबाट उपचार सहयोग समिति संयोजक नमस्कार शाहले ग्रहण गर्नुभयो। स्वास्थ्य अवस्थाका कारण निर्मोही स्वयं कार्यक्रममा उपस्थित हुन नसकेका थिए।

संयोजक शाहका अनुसार पुरस्कार र सम्मानपत्र छिट्टै नेपालगन्जस्थित निर्मोहीको निवासमै हस्तान्तरण गरिनेछ।संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका कमल बी.के. निर्मोही नेपाली गीतसंगीतका वरिष्ठ कलाकार हुन्। उहाँले नेपाली संगीतमा पुर्याएको योगदानको सम्मानस्वरूप यो वर्षको कन्हैया–अन्जना राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको हो।






