भिटामिन ‘ए’ कार्यक्रम कात्तिक २० र २१ गते

|

काठमाडौ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको आम औषधि खुवाउने कार्यक्रम आउदो कात्तिक २० र २१ गते सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको आम औषधि खुवाउने कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक २ र ३ गते र वैशाख ६ र ७ गते गरी दुई चरणमा सञ्चालन गर्दै आएको थियो ।

निर्धारित समयमा तीहारको लक्ष्मी पूजा परेकोले असोज २० गतेको सचिवस्तरीय बैठकलले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने पहिलो चरणको कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए । दोस्रो चरणको कार्यक्रम भने निर्धारित समयमानै हुने उनको भनाइ छ ।

त्यस्तै, सोही समयमा छ महिनाभन्दा माथिका बालबालिकालाई बाल भिटा पोषणयुक्त आहार दिइँदै छ । तोकिएको समयमा घर नजिकैको खोप केन्द्रमा लगेर बालबाकिलालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन उनले आग्रह गरे ।

पाँच वर्ष मुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ ।

२०८२ आश्विन २१, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।