बि–ग्रुपद्धारा विद्यालयलाई लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण गरि हस्तान्तरण

|

बर्दिया / सरस्वती आधारभूत विद्यालय गेरुवा ३ बनकट्टीमा लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण भएपछि विद्यालयमा पठन–पाठन क्रियाकलाप सहज हुने भएको छ । बाल विवाह न्यूनिकरण परियोजना अन्तरगत बि–ग्रुप, प्लान इन्टरनेशनल नेपालको साझेदारी र गेरुवा गााउँपालिकाको समन्वयमा लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको हो । विद्यालयको परिसरमा बुधबार सम्पन्न भएको कार्यक्रममा संस्थाले विद्यालयलाई लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण गरेको हो ।

सो कार्यक्रमका प्रमुख अतिथि एवं गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले शैक्षिक क्षेत्रको सुधारमा पालिका सदैव दृढ भएर लागेको बताउँदै शौचालय निर्माणमा बि–ग्रुप, प्लान इन्टरनेशनल नेपालको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा बि–गु्रपका कार्यकारी निर्देशक डम्मर सुनारले शिक्षलाई गुणस्तर बनाउन विभिन्न कुराहरुको आवश्यकता पर्ने भएकोले पूर्वाधार निर्माण पनि महत्वपूर्ण पाटो भएको बताउनुभयो । उहाँले किशोरीहरु महिनावारी भएको बेला विद्यालयमा उचित व्यवस्थान हुन नसक्दा कक्षा छोड्ने अवस्था सृजना हुन सक्ने बताउँदै शौचालय निर्माणले यसलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बालबालिकाहरु नियमित कक्षामा सहभागि गराउन सके बाल विवाहका घटनाहरु समेत कम हुने भएकोले यसलाई प्राथमिकता दिइएको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै प्लान इन्टरनेशनल नेपाल बाल विवाह न्यूनिकरण परियोजनाका कार्यक्रम अधिकृत बिमल गैरेले हेर्दा सानो देखिएतापनि शौचालय निर्माण हुनुले शिक्षण सिकाई क्रियाकलापमा ठुलो महत्व राख्ने बताउनुभयो । बालबालिकाहरु निरन्तर शिक्षण सिकाई क्रियाकलापमा संलग्न गराउन सके बाल विवाह रोकथाममा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका प्रधानाध्यापक तेज बहादुर सिंहले राख्नुभएको थियो । विशिष्ट अतिथि गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरी रहनुभएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक हिमाल खनालले गर्नुभएको थियो । सो शौचालय १४ लाख ५५ हजार ९ सय ६ रुपैैँया ३७ पैसा लागतमा निर्माण गरिएको हो । शौचालय निर्माणसँगै पठन–पाठन क्रियाकलापमा सहज वातावरण सृजना हुने विद्यालयको अपेक्षा राखेको छ ।

२०८० पुष ४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।