
बाँके । संयुक्त राष्ट्र सघंद्वारा सन् २०१५ मा दिगो विकासका लक्ष्य हासिल गर्न तय गरिएका १७ वटा लक्ष्यहरूका सम्बन्धमा जानकारी दिने उद्देश्यले नेपाल भरिका करिब १०० वटा क्याम्पसहरूमा स्नातक तहका विद्यार्थीहरूलाई १० दिने अभियानको सुरुवात भएको छ ।
सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यका साथ सुरु गरिएको सो अभियान लुम्विनी प्रदेशका बाँके तथा बर्दिया जिल्लामा पनि सुरु भएको छ ।
बाँकेका ४ र बर्दियामा ४ क्याम्पसहरूमा गरिने सो कार्यक्रम २०८० पुस १ गते बढैयाताल गाउँपालिका, बर्दियामा स्थित मैनापोखर शारदा बहुमुखी क्याम्पसबाट सुरु गरिएको थियो भने सोही दिन बबई बहुमुखी क्याम्पस गुलरियामा पनि सो कार्यक्रम सम्पन्न भएको थियो ।
बाँकेको महेन्द्र बहुमुखी क्याम्पस र अल्पाइन म्यानेजमेन्ट कलेजमा पुष २ गते कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सहजकर्ता प्रख्यात लम्साल र सोम गुरुङद्वारा सञ्चालित यस कार्यक्रममा स्नातक तहका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालनका क्रममा क्याम्पस प्रमुखहरू तथा अन्य प्राध्यापकहरूको समेत साथ र सहयोग प्राप्त भएको थियो ।
सहजीकरणका क्रममा मैनापोखर शारदा बहुमुखी क्याम्पस मैनापोखरमा बोल्दै सोम गुरुङले दिगो विकासका लक्ष्यहरू प्राप्त गरेमा मात्र विश्वका सम्पूर्ण राष्ट्रको हित र उन्नति हुने कुरा बताउनुभएको थियो। यस खालका कार्यक्रम विद्यार्थीहरूका लागि अपरिहार्य भएको कुरा बताउनुभयो। त्यसैगरी बबई बहुमुखी क्याम्पस गुलरियामा सहजकर्ता प्रख्यात लम्सालले दिगो विकासका लक्ष्यका बारेमा पाएको ज्ञान अरुलाई बाँडेमा मात्र यसले सार्थकता पाउने कुरा जानकारी गराउनुभएको थियो। आफ्नो क्षेत्रबाट दिगो विकासका लक्ष्य हासिल गर्नका निम्ति आजैबाट लाग्न अनुरोध पनि गर्नुभएको थियो ।
बाँकेको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर , ज्ञान बहुमुखी क्याम्पस कोहलपुर, बर्दिया स्थित बासंगढी बहुमुखी क्याम्पस र बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणा बर्दियामा पनि सञ्चालन हुनेछ ।
यस कार्यक्रमको मुख्य आयोजक विश्व खाद्य सङ्गठनको सहकार्यमा वल्र्ड फुड फोरम र नेपाल सरकार रहेका छन् । कार्यक्रम सञ्चालनार्थ आवश्यक सामग्रीहरू वल्र्ड फुड फोरम नेपालले उपलब्ध गराएको थियो ।