निराशालाई आशा जगाउँदै नेपालगन्ज म्याराथन

|

कान्स रेडकार्पेटमा हिंड्ने पहिलो नेपाली कलाकार अभिनेत्री सुरक्षा पन्त आउँदै

नेपालगन्ज / विश्व प्रतिष्ठित फ्रान्सको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिंड्ने अवसर पाउने पहिलो नेपाली कलाकारको परिचय बनाएकी अभिनेत्री सुरक्षा पन्त नेपालगन्ज आउने भएकी छन् । नेपालमा संघीयता आएपछि पछिल्लो समय नेपालगन्ज शहरबाट क्षेत्रीय कार्यालयहरु अन्यत्र ठाउँमा सरेपछि नेपालगन्जको ब्यापारिक चहलपहल कम भएको समयमा नेपालगन्ज म्याराथनले त्यो निराशालाई केही आशा जगाउने कार्य गरेको छ । नेपालगन्ज शहरलाई खेलकूदको माध्यमबाट नेपाल मात्र नभई विश्व सामु खेलकूदको शहर भनेर परिचत गराउन सफल भएको छ । नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यता प्राप्त दौड प्रतियोगिता हो ।

मंसिर ९ गते शनिबार आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउन अभिनेत्री पन्त नेपालगन्ज आउने निश्चित भएको आयोजकले जनाएको छ । यसक्रममा म्याराथनको अघिल्लो दिन मंसिर ८ गते हुने नेपालगन्ज कनक्लेभमा पनि उनले सक्रिय सहभागिता जनाउनेछिन् । उनले ‘के पढ्ने के लेख्ने’ शीर्षकमा प्यानलिस्टका रुपमा सहभागी हुनेछिन् । अभिनेत्री पन्तलाई बौद्धिक अभिनेत्रीका रुपमा चिनिन्छ । चलचित्र उद्योगमा प्रवेश गर्नु अघि उनी सिभिल ईन्जिनियरको जिम्मेवारीमा थिइन् । उनले सिभिल इन्जिनियरिङमा स्नातक तथा एकिकृत पानी स्रोत व्यवस्थापनमा स्नात्तकोत्तर गरेकी छिन् ।

२०१५ मा आलोक नेम्वाङको चलचित्र ‘अझैपनि’बाट डेब्यु गरेकी पन्तले धनपति, गोपी, आमा लगायत चलचित्रमा अब्बल अभिनय पस्किसकेकी छिन् । इटालियन फिल्म आठ माउन्टेनबाट उनले अन्तर्राष्टिय फिल्ममा डेब्यु गरेकी थिइन् । उक्त फिल्मले कान्समा जुरी अवार्ड प्राप्त गरेको थियो । यही फिल्मबाट पन्तको पनि चर्चा चुलिएको हो । उनले चलचित्र ‘आमा’का लागि राष्ट्रिय पुरस्कार जित्न सफल भइन् । उनी कविता लेखनमा रुची राख्छिन् । उनले चलचित्रमा आउनुअघि विभिन्न टेलिभिजनमा भिडियो जक्की भइ मिडियाकर्मीको परिचय पनि स्थापित गरेकी थिइन् ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला गरी जारी राखिएको छ । नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

नेपालगन्ज म्याराथनको वेभसाइट (www.nepalgunjmarathon.com) मा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ । यसबर्ष अघिल्लो वर्षमा चार विधा थप गरि बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष÷महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।

नेपालगन्ज म्याराथनको स्टार्ट÷फिनिसिङ गेट उपमहानगरपालिका कार्यालय अगाडि रहनेछ । त्यहाँबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ ।

नेपालगन्ज म्याराथनमा बिभिन्न क्षेत्रका सफल दर्जन बढी व्यक्तिहरु पनि ऐक्यवद्धता जनाउन आउनुहुनेछ । यसैबीच म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ आयोजना गरिंदैछ । खेल पर्यटन, युवा उद्यम, महिला सशक्तिकरण, साहित्य र स्वदेशमै रोजगारीजस्ता मुद्दामा बहस÷छलफल हुनेछ । सहभागिताका लागि खुला आह्वान पनि गरिसकिएको छ । इच्छुकले समयमै नाम दर्ता गर्नुपर्नेछ । कनक्लेभ सकिएपछि बाहिरी जिल्लाबाट आएका पाहुनालाई बेलुकी स्ट्रिट फुडका लागि त्रिभुवन चोक एरिया भ्रमण गराइनेछ । जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्थालाई साझेदारीका लागि आग्रह गरिएको छ ।

साथै, नेपालगन्ज म्याराथनका क्रममा कार्यक्रमलाई भव्य बनाउन सहभागिता जनाउने विभिन्न व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिनेछ । ‘सबै जाति, सबै भाषा एक ठाउँः सबै मिलि देश बनाउँ’ भन्ने हेतुले म्याराथन रुटमा खेलाडीको हौसलाका लागि उपस्थित हुने सहभागीमध्येबाट एक जनालाई बेष्ट ड्रेस अवार्ड, बेस्ट सहभागिता अवार्ड, बेस्ट भोलेन्टियर अवार्ड लगायत विविध विधामा सम्मान गरिनेछ ।

नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । त्यसैगरी इन एसोसियसन अफ पार्टनरमा केएल दुगड ग्रुपकै ज्ञान खाद्यान्न र शिखर प्लाई तथा पावर्ड बाइ पार्टनरमा सगरमाथा सिमेन्ट र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । हस्पिटालिटी पार्टनरमा होटल सोल्टी वेष्टेन्ड प्रिमियर, इएसपी
पार्टनर भायानेट, इन्टरटेन्मेन्ट पार्टनरमा मेरो प्लानेट, मेडिकल पार्टनरमा वेष्टर्न हस्पिटल, अफिसियल लाइभ पार्टनर हाम्रो खेलकुद डट कम, प्रिन्ट मिडिया पार्टनर दैनिक नेपालगन्ज, सोसल मिडिया पार्टनरमा नेपालगन्ज ग्यालरी र कोहलपुर ग्यालरी, रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक छन् भने राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद मुख्य प्रवद्र्धक रहेका छन् । त्यस्तै नेपाल पर्यटन बोर्ड समेत प्रवद्र्धक रहेको छ । जिल्लास्थित गाउँपालिकाहरु समेत प्रवद्र्धकका रुपमा रहनेछन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन । त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।

 

२०८० मंसिर ३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।