तामाङ कलाकार सुशीला ग्लानको असामयिक निधन

|

तामाङ गीत, संगीत क्षेत्रको अभिनय विधामा सक्रिय कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ । काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान ५ बजे उनको निधन भएको छ ।

जानकारी स्रोतका अनुसार जन्डिस भएर स्वास्थ्यस्थिति जटिल भएपछि तामाङलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

काठमाडौं शंखरापुर नगरपालिका १ मा २०५२ सालमा जन्मिएकी तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ लगायतका गीत लोकप्रिय छन् । अभिनयमार्फत तामाङ समुदायको मौलिक गीत, संगीतको संरक्षण र संवर्द्धनमा निरन्तर लागेकी उनको निधनप्रति दुःख व्यक्त गर्दै कलाकार संघ र तामाङ चलचित्र संघ नेपालले शोक वक्तव्य निकालेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनको ‘मायाभन्दा ठूलो जात होइन (कहाँ पर्‍यो घर)’गीतको म्युजिक भिडियो शुक्रबार नै सार्वजनिक गरिने कार्यक्रम तय गरिए पनि उनको निधनले तामाङ गीत, संगीत क्षेत्रलगायत कलाकार संघ नै स्तब्ध भएकोले स्थगन गरिएको जानकारी प्राप्त भएको छ ।

२०७९ आश्विन २८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।