मधुवन / बर्दिया जिल्लाको आगामी आर्थिक वर्षका लागि बजेट निर्माण चरणमा रहेका बेला योजना छनौटमा लक्षित वर्गको विशेष गरि बालबालिका तथा किशोरकिशोरीको सहभागिताको सवाल उठेको छ । मधुवन नगरपालिका वडा नं.९ मा भएको पैरवी बैठकमा योजना तर्जुमा प्रक्रियामा बालबालिकाको सवालमा जोड दिईने निर्वािचत जनप्रतिनिले प्रतिबद्धता जनाएका छन् ।
स्थानीय तहले आवश्यकताका आधारमा योजना छनौट गर्नुपर्ने र त्यसमा लक्षित वर्गको सहभागिता गराउनुपर्ने विषयमा सरोकारवालाले ऐक्यवद्धता जनाएका छन्
पहिले गाविस हुँदा बस्ती स्तरीय योजना छनौट हुने गरेको भएपनि अहिले स्थानीय तह भएपछि त्यसमा कमी आएको नागरिकको गुनासो रहेको छ ।
कार्यक्रममा सहभागिले योजना छनौट गर्दा लक्षित वर्गलाई समेट्न आग्रह र सुझाव दिएका छन् । कार्यक्रममा मधुवन वडा नं. ९ का अध्यक्ष हर्क बहादुर बस्नेतले विगतका वर्षमा लक्षित वर्गको बजेट विनियोजन गरेको बताउँदा बजेट अभावले सबै ठाउँमा कार्यक्रम पुग्न नसकेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा बजेटको आकार अनुसार लक्षित वर्गको क्षेत्रमा कार्यक्रम तर्जुमा गर्ने र विशेष गरि बालबालिका तथा किशोरकिेरीको लागि बजेट विनियोजित गरिने प्रतिबद्धता गर्नु भयो । उहाँले स्थानीय तहले गरेको कार्यक्रम, योजनालाई प्रभावकारी बनाउन स्थानीय स्तरबाट समेत सहयोग हुनुपर्ने बताउनुभयो ।
योजना बनाउने चरण चलिरहेकाले उठेका सवालमा आफ्नो ध्यानाकर्षण भएको वडा अध्यक्ष तथा जनप्रतिनिधिले बताउनुभयो । भेरी वातावरणीय विशिष्टता समुह( बी–ग्रुप) र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लाको चार स्थानीय तहमा सन्चालनमा रहेको बाल विवाह न्युनीकरण परियोजना अन्तर्गत बर्दिया जिल्लाको चार स्थानीय तहहरु मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको प्रत्येक पालिकाको ४/४ वडा गरि गरि जम्मा १६ वटा वडामा योजना तर्जुमा प्रक्रियामा बालबालिकाको सवालमा सरोकारवालाको भुमिका विषयक पैरवी बैठक सम्पन्न गरेको बाल विवाह न्युनीकरण परियोजनाका परियोजना ब्यवस्थापक जगदिश थापाले जानकारी दिनुभयो ।






