संविधानले सबैलाई समेट्न सकेन – नेता राजेन्द्र महतो
नेपालगञ्ज । पूर्व उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीको भावनाको एकीकरण हुन जरुरी रहेको बताउनुभएको छ । संविधानले अझैपनि सबैलाई समेट्न नसकेको जिकिर गर्दै फेरि संशोधन गरी सबैको भावना समेट्नु पर्नेमा उहाँले जोड दिनुभयो । लोकतान्त्रिक समाजबादी पार्टी नेपालका बरिष्ठ नेता समेत रहेका महतोले देश बनाउन जमिन र जनतालाई मात्र नजोडेर आवश्यकतालाई पनि जोड्नुपर्ने बताउनुभयो ।
शनिवार बाँकेको डुडुवा गाउँपालिका ४ शाहपुर्वामा निर्माण सम्पन्न शिव र हनुमान मन्दिर उदघाटन समारोहलाई सम्बोधन गर्दै महतोले समानताका लागि सबैको बराबरको सिद्धान्त कार्यान्वयन हुनुपर्ने बताउनुभयो । शासनसत्ताभन्दा पनि मानसिकता सुधार गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । संविधानले सबैको अधिकार समेट्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । नेपालगन्जमा पार्टीको प्रशिक्षण कार्यक्रममा आइपुग्नु भएका नेता महतो मन्दिर उदघाटन कार्यक्रममा पनि सहभागी हुनुभयो । २०३३ सालमा डुडुवामा रहेको यस मन्दिरको हालसम्म व्यवस्थापन समिति निर्माण हुन सकेको थिए । मन्दिरको नियमित संचालन र व्यवस्थापनका लागि स्थानीय मिलेर संरक्षण तथा संवद्र्धन समिति बनाएका छन् ।
उक्त समितिको नेतृत्वमा शनिबार उक्त मन्दिरको उद्घाटन गरिएको हो । मन्दिरको संचालन व्यवस्थापनका लागि मेघराज बिश्वकर्माको अध्यक्षमा समिति बनाइएको छ । त्यस्तै बिधिवतरुपमा संचालन कार्यका लागि स्थानीय मोहम्मद रसुल शाहले उल्लेख्य योगदान पुर्याउनुभएको छ । यस्तै मन्दिरको सरंक्षणका लागि स्थानीय जसकरण यादव र जि नेपाल टेलिभिजनका प्रबन्धक आशिष गुप्ताको समेत बिशेष सहयोग रहेको समितिले जनाएको छ । मन्दिरको नाममा ९० कठ्ठा जमिन रहेको छ ।






