ठाकुरद्धारा(बर्दिया) / बर्दिया जिल्लाको मधुवन, बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाका शिक्षक तथा शिक्षा शाखा प्रमुखले आगामी दिनमा सकारात्मक सिकाइको सिर्जना आफनो पालिका र विद्यालय तहमा यस प्रकारको तालिम र गोष्ठीहरु सहजीकरण गर्नेे लिखित प्रतिबद्धता गरेका छन् ।
सो तालिम ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बर्दिया जिल्लामा सन्चालन भईरहेको टेलिथन, बालिका दुलही होइन परियोजना (Telethon: Child Not Bride Project ) अन्तर्गत भेरी वातावरणीय विशिष्टता समुह( बी– ग्रुप) को आयोजनामा बर्दियाका शिक्षकलाई सकारात्मक सिकाई वातावरण सिर्जना गर्ने सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
सो तालिममा बर्दिया जिल्लाको मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाबाट शिक्षा शाखाका प्रमुख तथा प्रत्येक पालिकाबाट १ शिक्षक र १ शिक्षिका गरि १२ जना र कर्मचारी ५ जना र कार्यसमितिबाट १ जना अध्यक्ष गरि जम्मा १८ जनाको सहभागिता रहेको परियोजनाका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो । तालिममा सकारात्मक सोच, खुसीका लागि शिक्षा, सकारात्मक सोच र आत्म ब्यवस्थापन र प्रसंशात्मक खोजी विधिको चर्चा, विद्यालयको प्रभावकारी नेतृत्व ब्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीहरुको आचारसंहिता र किशोरावस्थाका परिवर्तन र विशेषताहरु बारेमा प्रशिक्षक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव जित बहादुर शाहले प्रशिक्षण दिनुभएको थियो ।
सो तालिममा सहभागी ठाकुरबाबा नगरपालिकाका किसान माविका प्र.अ. ममता पाठकले यस तालिमले आफनो नीजि जिवन र शिक्षण पेशामा सकारात्मक सोचाई गर्नमा थप टेवा पुग्ने र सृजनात्मक ब्यवहार गर्न अभिप्रेरित गरेको बताउनुभयो । त्यसैगरि अर्का सहभागी बारबर्दिया नगरपालिकाका पञ्चजन्याका शिक्षक प्रेम प्रसाद पोख्रेलले बाल विवाह विरुद्ध अभियानमा आफनो पालिकामा समन्वय तथा सहकार्य गर्ने बताउनुभयो ।
बी–ग्रुपद्धारा सन्चालित टेलिथन, बालिका दुलही होइन परियोजनाको उद्धेश्य विद्यालयहरुमा छात्राहरुको निरन्तरताका लागि सहकार्य गर्ने ,किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ज्ञान प्रदान गर्न सहयोग गर्ने,युवा विशेष गरि किशोरी तथा युवा महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्नका लागि सहयोग तथा सहकार्य गर्ने,परम्परागत हानिकारक अभ्यासहरुबाट समाजमा भएका विभेदकारी मुल्यमान्यताहरुलाई परिवर्तन गर्न सहकार्य गर्ने र बाल संरक्षण तथा युवा सहभागिता सम्बन्धि नीतिगत ब्यवस्था सुदृढ गरि बाल विवाह, छिटो विवाह र दवावमा हुने विवाहलाई न्युनीकरण गर्न समन्वय तथा सहजीकरण गर्ने रहेको छ ।
तालिमको समापन कार्यक्रमको भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) का अध्यक्ष टेक बहादुर पुनले गर्नुभएको थियो ।
तालिमका सहभागीहरुद्वारा गरिएको प्रतिवद्धता
प्लान इन्टरनेशनल नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह Bheri Environmental Excellence Group ( BEE-Group) द्वारा मिति २०७८ साल चैत्र ७ गतेदेखि ऐ ११ गतेसम्म बर्दियाको ठाकुरद्वारामा सञ्चालन भएको सकारात्मक सिकाइ सिर्जनासम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिमका हामी तपसिलका सहभागीहरुले तालिममा सिकेका कुराहरु मध्ये देहायका कुराहरु आफ्नो कार्य क्षेत्रमा गइ सबैको सहमतिमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । मिति २०७८ साल चैत्र ११ गते रोज ६ शुभम् ।
देहाय
१. विद्यार्थी, अभिभावक सहकर्मी लगायत सरोकारवाला सबैसँग मुस्कुराउदै प्रस्तुत हुने स्वभावको विकास गर्ने ।
२. सकेसम्म सवैसँग मीठो बोल्ने, थोरै बोल्ने र विस्तारै बोल्ने बानीको विकास गर्ने ।
३. जस्तोसुकै चुनौतिमा पनि अवसर र दुखमा पनि खुशी खोज्ने सकारात्मक सोचको विकास गर्ने ।
४. विद्यार्थी र शिक्षकहरुमा प्रसंशात्मक खोज विधिका माध्यमबाट सक्षमताहरुको खोजी गरी उक्त सक्षमताहरुको विकास र विस्तारका लागि विद्यार्थीलाई प्रोत्साहित गर्ने ।
५. बालबालिकाको खाजा, सरसफाइ र सिकाइ ब्यवस्थापनमा उल्लेख्य योगदान गर्ने अभिभभावकलाई वार्षिक एवम् अर्धबार्षिक रुमा सम्मान गर्ने ।
६. शिक्षक र कर्मचारीहरुको बीचमा सेवा सुविधा र प्रोत्साहनको न्यायोचित वितरण गर्नका लागि आफ्नो स्थानबाट पहल गर्ने ।
७. पाठ्योजना वा शिक्षण नोट र शैक्षिक सामग्री सहित कक्षामा प्रवेश गर्ने शिक्षकहरुका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न आफ्नो स्थानबाट आवश्यक पहल र पैरबी गर्ने ।
८. हरेक दिन विद्यार्थी भन्दा पहिले शिक्षक गेटभित्र प्रवेश गरेर विद्यार्थीहरुलाई गेटबाट स्वागत गर्दै विद्यालयमा प्रवेश गर्ने गराउने वातावरणको सिर्जना गर्न सक्रियता देखाउने ।
९. विद्यालयका सबै विद्यार्थीहरुलाइ सबै शिक्षकहरुले नामैले सम्बोधन गर्ने वातावरण सिर्जनाका लागि भूमिका निर्वाह गर्ने।
१०. विद्यालयले विहानी पख विद्यालय खुल्ने समयमा विद्यालय परिसरमा बाल मनोविज्ञान एवम् देशभक्तिका भावनाले भरिएका गीतहरु बजाएर साँगीतिक वातावरण सिर्जना गर्नका लागि आवश्यक पहल गर्ने ।
११. समयको आवश्यकता र माग बमोजिम विद्यालयमा प्रविधिमैत्री वातावरणको विकास गर्नका लागि भूमिका निर्वाह गर्ने ।
१२. विद्यालय मार्फत हरेक बालबालिकाहरुमा सवलता र सम्भावनाको खोजी गर्ने प्रवृत्तिको विकास गरी तदनुसार नै बालबालिकाहरुलाई सिकाइमा सहयोग गर्ने ।
१३. विद्यालयमा हरेक शैक्षिक सत्रमा हरेक शिक्षकले कम्तिमा विद्यार्थीका क्षमता र सम्भावनाहरुका विषयमा कार्यमूलक अनुसन्धान गरी सोको उपलब्धिसम्बन्धी अभिमुखीकरण र अभिलेखन गर्ने कार्यका लागि उल्लेख्य भूमिका निर्वाह गर्ने ।
१४. सरोकारवालाहरुको सहभागितामा विद्यालयको दूरदृष्टी अद्यावधिक गरी सबैले देख्ने गरी सार्वजनिकरण गर्न भूमिका निर्वाह गर्ने ।
१५. आफ्नो पालिकाका तथा आफू कार्यरत विद्यालयलाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रले निर्धारण गरेको मापदण्ड अनुसार उत्कृष्ट विद्यालयको रुपमा विकास गर्नका लागि भूमिका निर्वाह गर्ने ।
१६. विद्यालयका माथिल्ला कक्षाहरुमा PLAS (Planning of Learning Achievement by Students) कार्यक्रम सञ्चालन भूमिका निर्वाह गर्ने ।
१७. विद्यालयलाई अपाङ्ग र किशोरकिशोरीमैत्री विद्यालयको रुपमा विकास गर्नका लागि आवश्यक भूमिका भूमिका निर्वाह गर्ने ।
१८. विद्यालयलाई बालबिवाह र लैङ्गिक हिंसालगायत अन्य विविध हिंसा र विभेदबाट मुक्त गर्नका लागि भूमिका निर्वाह गर्ने ।
१९. शिक्षक, अभिभावक र विद्यार्थीहरुको आचारसंहिता उनीहरुकै सक्रिय सहभागितमा निर्माण गरी कार्यन्वयन गर्नका लागि भूमिका निर्वाह गर्ने ।
२०. विद्यालयमा बालसंरक्षण नीतिको निर्माण गरी कार्यान्वयन गर्नका लागि आवश्यक भूमिका निर्वाह गर्ने ।
२१.सकारात्मक सिकाइको सिर्जनासम्बन्धी तालिमको प्रशिक्षकको हैसियतले पालिका र विद्यालय तहमा सञ्चालन हुने यस प्रकारका तालिम र गोष्ठीहरुमा सहजीकरणको भूमिका निर्वाह गर्ने ।






