नेपालगन्ज / छिमेकी मुलुक भारतबाट आएका २३ जनामा कोरोना पोजिटिभ देखिएको छ । नेपालगन्ज नाकाको हेल्थ डेस्कका हेल्थ असिसटेन्ट सुरेन्द्र चलाउनेका अनुसार, बिहीबार भारतबाट आएका २३ जनामा कोरोना देखिएको हो । यो संख्या नाकामा हेल्थ डेस्क राखिएको दश महिनाकै बढी संख्या रहेकाे छ । भारतको विभिन्न शहरबाट आएका ५ सय २६ जनाको जाँच गर्दा एक दिनमा २३ जनामा कोरोना देखिएको छ ।
हेल्थ डेस्कका हेल्थ असिसटेन्ट चलाउनेले जानकारी दिए अनुसार भारतबाट आएका दाङ, बाँके, सल्यान, सुर्खेत, दैलेख, रुकुम, अछाम जिल्लाका मानिसमा कोरोना देखिएको जानकारी दिनुभयो उनीहरु भारतको दिल्ली, चण्डीगढ़, चेन्नाई, हैदरावाद,गोवाबाट आएका हुन् ।
भारतमा दैनिक ठूलो संख्यामा संक्रमित थपिदा त्यसको असर नेपालमा परेको छ । कोरोना फैलिएको शहरका नेपालीहरु धमाधम घर फर्किन थालेका छन् । कोरोना लागेका व्यक्तिमा खासै लक्षण देखिएको छैन । उनीहरुलाई दश दिन स्वास्थ्यकर्मीको निगरानीमा राख्न जरुरी रहेको छ । भारतमा कोरोना बढ्दा नेपालगन्ज नाकाबाट घर फर्किने नेपालीको चाप बढ्दै गएको छ ।






