
काठमाडौं । नेकपा एमालेले यस पटकको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको परिचय पत्र पनि प्रविधियुक्त बनाएको छ। परिचय पत्र बारकोडसहित उल्लेख गरिएको छ। जुन बारकोड मेसिनले स्क्यानिङ गरेपछि प्रमाणित भएपछि प्रतिनिधि बन्दसत्रमा प्रवेश पाउने छन् ।
‘बन्दसत्रमा प्रवेश गर्दा होस् वा मतदानमा भाग लिँदा, खाना खाने बेला पनि बारकोडको माध्यमबाट स्क्यानिङ हुन्छ,’ केन्द्रीय सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले भन्नुभयो, ‘यो हामीले व्यवस्थित र सहज व्यवस्थापन गर्न सकियोस् भनेर व्यवस्था गरेका हौं ।’
एमाले केन्द्रीय सदस्य एवं महाधिवेशन मूल आयोजक कमिटीका सदस्य कपिलदेव पोखरेलले सौराहमा ३५ सय कोठाहरु प्रतिनिधिका लागि छुट्टाइएको भन्दै व्यवस्थापनको सबै तयारी सकिएको बताउनुभयो ।