देशभरका ६ हजार ७४३ वडामा सम्मेलन गर्दै माओवादी

|

काठमाण्डौं /  नेकपा माओवादी केन्द्रले शनिबार देशभर नै वडा सम्मेलन गर्ने भएको छ। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। माओवादीले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ।
समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासमेत तय गरेको छ।

माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसहमतिमा गर्न भनेको छ। निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पङ्क्तिलाई आग्रह गरेको छ।

वडा सम्मेलनका सन्दर्भमा पार्टी प्रवक्ता महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ।’ माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ।

 

 

२०७८ मंसिर ३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।