एजेन्सी । अष्ट्रेलियाले पाकिस्तानलााई हराउँदै आइसिसी टि-२० विश्वकप २०२१ को फाइनलमा पुगेको छ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक टि२० विश्वकपको फाइनलमा स्थान बनाएको छ । अष्ट्रेलियाले उपाधिको लागि आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।
जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा विकेटकिपर म्याथ्यु वेड १७ बलमा २ चौका र ४ छक्का सहित ४१ रनमा अविजित रहे । मार्कस स्टोइनिस ३१ बलमा २ चौका र २ छक्का सहित ४० रनमा अविजित रहे ।
अष्ट्रेलियालाई अन्तिम १२ बलमा २२ रन आवश्यक परेको थियो । १९ औं ओभरमा शाहिन शाह अफ्रिदीलाई म्याथ्यु वेडले अन्तिम तीन बलमा लगातार छक्का प्रहार गर्दै खेल जिताएका थिए ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । फखार जमान ३२ बलमा ३ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहे । रिजवानको यो टि२० करिअरको ११ औं अर्धशतक हो । योसँगै रिजवान एकै वर्षमा टि२० आई खेलमा १ हजार रन बनाउने विश्वकै पहिलो खेलाडी बने ।






