रुकुम पश्चिम / प्रहरी र स्थानीय युवाबीच शुक्रबार राति खंलगाको बाग बजारमा झडप हुदा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ प्रहरी घाइते भएका छन् । रुकुम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीका अनुसार झडपमा परी घाइते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएको थियो ।
यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको छ । उनको टाउकोमा गम्भिर चोट लागेको छ । त्यसैगरी प्रहरी हवल्दार कालीबहादुर बोहराको ढाडमा चोट लागेको छ ।
प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा र चार सामान्य घाइते भएक छन् । युवाहरुको समूहले शुक्रबार राती पौने नौ बजे बागबजार नजिकैएक ट्रकमा ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएका थिए । जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त प्रहरीटोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी नै ढुंगामुढा र बोतल प्रहार गरिएको थियो ।
घटनामा संलग्न मुसीकोट नगरपालिका ५, का २० वर्षीय नरेश पुन मगर, वडा नम्बर १ का १८ वर्षीय राजनप्रकाश गिरी, २० वर्षीय आकाश परियार रहेका छन् । त्यस्तै रुकुम पूर्वको भुमे गाउँपालिका घर भई हाल मुसीकोट नगरपालिका ५ बस्ने २३ वर्षीय मर्कुश पुन मगर, मुसिकोट नगरपालिका–१०, का २४ वर्षीय खडानन्द केसी, मुसीकोट नगरपालिका–१, का २५ वर्षीय हरिबहादुर घर्ती पनि पक्राउ परेका छन् । यसैगरी घटनामा संलग्न धनिराम नेपाली र स्वयल विक फरार छन् ।