
काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि महिला अधिकारकर्मी रुवी खानलाई प्रहरीले रिहा गरेको छ । गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएकी खानलाई रिहा गर्न माग गर्दे अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न र रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत आदेश दिएको थियो । बाँकेमा २ महिला हत्या को विषयमा न्याय खोज्न नेपालगञ्जबाट काठमाडौं सम्म पैदल आएकी खान सहितको टोलीलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको थियो ।तर अन्यलाई केही समय पछि रिहा गरेपनि खानलाई भने प्रहरीले रिहा गरेको थिएन । प्रहरीले खानको पुरानो मुद्दामा पक्राउ गरेको जनाउदै आएको थियो ।