नरैनापुर (बाँके) / डिजिटल पुस्ताःहाम्रो पुस्ता मुल नाराको साथ मनाईएको अन्तर्राष्ट्रिय बालिका दिवशको अवशरमा बाँकेको नरैनापुर गाउँपालिकामा १६ वर्षीेया किशोरी अन्जली बोहरा एक दिनका लागि गाउँपालिका अध्यक्ष भएकी छन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँके, हामी दाजु भाई लगायत संस्थाले संयुक्त रुपमा आयोजना गरेको गल्र्स टेकओभर कार्यक्रम अन्तर्गत सृजनशिल किशोरी क्लबकी अध्यक्ष समेत रहेकी बोहरालाई नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तीयाक अहमद शाहले आईतवार एक दिनका लागि अध्यक्ष पद हस्तान्तरण गरेका हुन् ।
बोहराले गाउँपालिकाको अध्यक्षको हैसियतमा अनलाइनबाट हुने किशोरी हिंसाका विषयमा गाउँपालिकाका अध्यक्ष ईस्तीयक अहमद शाह तथा कार्यपालिका सदस्यहरुसँग बृहत छलफल गरिन् । उनले साइबर क्राइमबारे गाउँपालिकाका सामुदायिक, मदरसा र नीजि विद्यालयमा साप्ताहिक रुपमा साइबर क्राइम र त्यसले पार्ने प्रभावबारे साप्ताहिक रुपमा भिडियो प्रदर्शन गर्ने, विद्यालय व्यवस्थापन समितिले मासिक रुपमा अभिभावक भेला डाकेर इन्टरनेटको प्रयोग र दुरुपयोगबारे सन्तानसँग जानकारी लिनुपर्ने निर्णय पनि गरिन् ।
गाउँपालिका अध्यक्ष शाहले अन्जली बोहराले किशोर किशोरीका समस्याबारे निर्धक्क रुपमा पालिकाको टिमसँग छलफल गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।
आईतवार नै नेपालगन्ज उपमहानगरपालिकामा पनि वडा नं.१०का वडा स्तरीय किशोरी क्लबका अध्यक्ष किशोरी १७ बर्षीया स्नेहा शाह महिला तथा बालबालिका शाखाका प्रमुखको भूमिका निर्वाह गरेका छन्।