तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

|

पोखरा । नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर समितिद्वारा आयोजित तिन दिने नेतृत्व विकास तथा उद्घोषणकला तालिम सम्पन्न भएको छ।
म्हेनिङ पर्व(सम्वृद्धिको पुजा)को आगमनको अवसरमा आयोजित तालिमको समापन समारोहका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ केन्द्रिय समितिका पुर्व अध्यक्ष धनप्रसाद तामाङले तालिमबाट सिकेका ज्ञानले समाजलाई सिर्जित गर्नुपर्ने बताउनुभयो। ज्ञानकै अभावले विगतदेखि विभेद भोग्नु परेको समुदाय अब सामाजिक न्याय, समानता र राज्य हाँक्नका लागि समेत तयार हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले म्हेनिङको महत्वको बारेमा समेत प्रष्ट्याउनुभएको थियो।
कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय समितिका पुर्व कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ, नेपाल तामाङ घेदुङ केन्द्रिय सचिवालय सदस्य दिपक वाइबा तामाङ , नेपाल तामाङ घेदुङ पोखरा महानगर अध्यक्ष टेकबहादुर तामाङ, महिला घेदुङ पोखरा महानगर सल्लाहकार रितु तामाङ, फ्याफुल्ला महिला वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष शान्ति तामाङ, नेपाल तामाङ विद्यार्थी घेदुङ केन्द्रिय सदस्य मनिस तामाङ, नाङसाल तामाङ समाजका अध्यक्ष चन्द्र ग्याबक तामाङले मन्तव्य व्यक्त गर्नुहुदै तालिममा सिकेका कला व्यक्तित्व विकास र सामुदायिक हितका लागि पुर्ण रुपले सदुपयोग गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट शोनी योञ्जन, शान्ति स्याङ्बो, एलिसा पाख्रिन, रजनी स्याङ्बो, बुद्धिमाया माम्बाले तीनदिने प्रशिक्षणबारे अनुभव प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यक्रममा समिक्षा तामाङले तालिमका बारेमा कवितामै नारी उत्पिडनको प्रस्तुत गर्नुभएको थियो।
नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर समितिकी अध्यक्ष पवित्रा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष जयन्ती तामाङ र सञ्चालन सचिव निमा तामाङले गर्नुभएको थियो।
नेतृत्व तथा उद्घोषण कला तीनदिने प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगनीले सहजीकरण गराउनुभएको थियो भने उद्घाटन नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश सदस्य कमला तामाङले गर्नुभएको थियो।
कार्यक्रमका लागि बिजीबी रिसोर्ट लेकसाइड, मुनडान्स रेष्टुरेण्ट एण्ड बार, बिडी कलर हाउस, ढाबा तन्दुरी नान हाउस, धनराज तामाङ(दक्षिण कोरिया) र गौरब तामाङ(युके)ले प्रायोजक भई सघाएको थियो।

२०७८ आश्विन २३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।