बुद्ध एयरका क्यापटन एजी शेर्पाद्धारा जहाज सुरक्षित अवतरण गर्न सफल

|

काठमाडौँ । सोमबार विहान काठमाडौँबाट ८ बजेर ३१ मिनेटमा उडेको बुद्ध एयरको विमान १० बजेर २७ मिनेटमा पुनः त्रिभुवन विमानस्थलमा अवतरण भयो । सोमबार बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियरमा समस्या देखिएपछि अवतरण नगरी काठमाडौँ फर्किएर आकाशमा आधा घण्टाभन्दा बढी समय होल्ड भयो । विमानमा चालक दलका सदस्यसहित ७७ जना यात्रु थिए । जसमा तीन जना नवजात शिशुसहित ५ जना बालबालिका थिए । विराटनगर विमानस्थलले विमानमा प्राविधिक समस्या छ भनेर ९ बजेर १६ मिनेटमा ‘रिपोर्ट’ गरेको थियो ।

विराटनगरमा अवतरण गर्नेक्रममा ल्यान्डिङ गियर इन्डिकेटरमा समस्या देखिएपछि र त्यहाँको विमानस्थल टावरले पनि ल्यान्डिङ गियर नझरेको जानकारी दिएपश्चात जहाजलाई क्याप्टेनले पुन काठमाडौँ फर्काउने निर्णय गरेको बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ल्यान्डिङ गेयरमा समस्या आएपछि जहाजलाई बिराटनगरबाट काठमाडौं फर्काइयो । तर त्रिभुवन विमानस्थलमा पनि तत्काल ल्यान्डिङ गर्न समस्या भयो । त्यसपछि विमानलाई आकाशमै फन्का लगाइयो । फन्का लगाउनुको कारण विमानको सबै इन्धन सिध्याउने र विमानस्थलमा फोर्स ल्यान्डिङ गर्ने तयारीका साथ आकाशमा चार पटक भन्दा बढी फन्का लगाइयो ।

यता विमानस्थलमा सम्भावित जोखिमको अबस्थालाई हेरेर सम्पूर्ण तयारी गरिएको थियो । एम्बुलेन्सदेखि अग्नि नियन्त्रकसम्म तयारी अबस्थामा बसेका थिए । अन्तत इन्धन सकिन लागेपछि पाइलटले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा फोर्स ल्यान्डिङ गराए ।
सफल अवतरणपछि विमानस्थलमा यात्रारत यात्रु र उपस्थित सबैले खुसी साटासाट गरे ।

विमान बिहान आकाशमा विमान होल्ड भइरहँदा यात्रुहरुले आफूहरु जीवन मरणको अवस्थामा पुगेको भनेर अनुभव गरेको बताएका छन्। क्याप्टेन एजी शेर्पाले सुझबुझपूर्ण तरिकाले विमान अवतरण गराएका हुन् ।

२०७८ आश्विन ११, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।