कोरोना संक्रमणबाट भेरी अस्पतालमा युवकको मृत्यु

|

नेपालगन्ज / कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा युवक र बृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा २२ वर्षका युवक र ७२ वर्षीय बृद्ध रहेका छन् । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ५ बाँकेका २२ वर्षीय युवकको संक्रमणबाट ज्यान गएको हो ।

यही असोज ४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए । तर, संक्रमण पुष्टी भएको पाँच दिनमै २२ वर्षका युवकको मृत्यु भएको छ । अस्पतालका अनुसार युवकको शनिबार राती १ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।

कोभिड वार्डमा कार्यरत एक नर्सका अनुसार युवकको बोल्दा(बोल्दै मृत्यु भएको हो । उनी केहीबेर अघिसम्म आफ्ना कुरुवासँग बोलिरहेका थिए । पछिल्लो समयमा कोरोना महामारीलाई सर्बसाधारणले हल्का रुपमा लिइरहेपनि अस्पतालभित्र मृत्यु हुनेको संख्या र अवस्थाले जटिल बनाइरहेको स्वास्थ्यकर्मी बताउँछन् ।

यस्तै बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर ४ का ७२ वर्षीय पुरुषको पनि कोरोनाले ज्यान गएको छ । भेरी अस्पतालमा गत भदौं ३० गते कोरोना पुष्टी भएपछि उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै फोकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३४ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४ सय १८ जनाको मृत्यु भएको छ ।

२०७८ आश्विन ९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।