कोरोना संक्रमणका कारण पत्रकार चौहानको निधन

|

बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य विन्दुकुमार चौहानको कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोना संक्रमणको लक्षण देखिएपछि होम आइसोलेसनमा रही कोरोना ठीक भैसकेका पत्रकार चौहानको स्वास्थ्यमा एक्कासि समस्या आएपछि ५ दिनअघि भैरहवास्थित युसिएम अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा फोक्सोमा समस्या आई निमोनिया देखिएका चौहानको उपचाररत अवस्थामा गएराति २ः०० बजे निधन भएको हो । स्वर्गीय चौहानका श्रीमती, तीन छोरी र चार छोरा छन् ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय चौहानले बुटवलस्थित लुम्बिनी दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको थियो । २०६२/०६३ को जनआन्दोलनमा पत्रकारिताको माध्यमबाट सक्रिय भूमिका निर्वाह गर्नुभएका चौहान पछिल्लो समय एबीसी टेलिभिजन र बुटवल टुडेमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार चौहानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना नेपाल पत्रकार महासंघले व्यक्त गरेको छ।

कोरोनाकै कारण हालसम्म २५ जना पत्रकारको निधन भएको छ भने एक हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

२०७८ भाद्र ३०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।