जानकी गाउँपालिका जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा

|

जानकी । बाँके जिल्लाको जानकी गाउँपालिका जिल्लाकै पहिलो बाल विवाह मुक्त पालिका आज घोषणा भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तव, जानकी गाउँपालिका कार्यवाहक अध्यक्ष भुमिसरा धितालले संयुक्त रुपमा जानकी गाउँपालिकालाई बाल विवाहमुक्त पालिका घोषणा गर्नुभएको छ ।

कार्यक्रममा बोल्नु हुदै जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले जिल्लाका लागि यो ठुलो उपलब्धी भएको बताउनुभयो । उहाँले जिल्लाका आठ स्थानीय तहहरुमध्ये जानकीले लक्ष्यभित्रै पालिकालाई घोषणा गर्न सफल भएको बधाई ज्ञापन गर्नुभयो । साथै उहाँले लुम्बिनी प्रदेशकै पहिलो बाल विवाह मुक्त स्थानीय तह बन्न सफल भएकोमा धन्यवाद समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्नु हुदै गाउँपालिका कार्यवाहक अध्यक्ष धितालले पालिकालाई अथक प्रयासपछि बाल विवाह मुक्त घोषणा गर्न सफल भएको भन्दै सम्पूर्ण पालिकाबासी सामाजिक संघसंस्थालाई धन्यवाद दिनुभयो ।साथै उहाँले पालिकालाई बाल विवाहमुक्त घोषणा गर्नका लागि बाल विवाह रोकथाम परियोजना संचालन गरेको सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) र प्लान ईन्टरनेशनल नेपाललाइ लाई बिशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया बिक, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

घोषणा समारोहका अवसरमा पालिकामा बाल विवाह मुक्त बनाउनका लागि सहयोग गर्ने व्यक्ति तथा संघ सस्थाहरुलाई सम्मान पत्रले कदर प्रदान गरिएको छ । मंगलबार गाउँपालिकाले एक समारोहका बीच भब्यरुपमा पालिकालाई जिल्लाकै पहिलो वाल विवाह मुक्त पालिका घोषणा गरिएको हो ।

२०७८ भाद्र २९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।