
जानकी । जानकी गाउँपालिका बाँके जिल्लामै पहिलो पटक बालविवाह मुक्त स्थानीय तह घोषणा हुने भएको छ ।
यही भदौ २९ गते बाल दिवसको अबशर पारेर गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी भएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा पालिकास्तरीय बालअधिकार समितिका संयोजक भूमिसरा धितालले जानकारी दिनुभयो ।
बालविवाहमुक्त गाउँपालिका घोषणा कार्यक्रमको लागि गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा पालिकास्तरीय बालअधिकार समितिका संयोजक धितालको संयोजकत्वमा २१ सदस्यीय बालविवाह मुक्त पालिका घोषणा समिति गठन गरिएको छ। समितिमा सरोकारवाला संघसंस्था र व्यक्तिहरु सदस्य छन् ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, गाउँपालिकाको वडा नं. १, २, ३,४ र ५ बालविवाह मुक्त घोषणा भइसकेका छन् भने आज २८ गते वडा नं. ६ पनि बालविवाह मुक्त वडा घोषणा पनि भैसकेको छ । जिल्लामा बालविवाह मुक्त घोेषणाका लागि सहजीकरण गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।