पोखरा / पोखरामा स्वतन्त्र युवाले गरेको प्रदर्शनमा घुसपैठ भएपछि २ युवा पक्राउ परेका छन् । सामाजिक सञ्जालबाट आह्वान गरिएको उक्त प्रदर्शनका क्रममा विमलबहादुर पहारी र प्रेमबहादुर केसीले प्रहरीलाई ढुंगा प्रहार गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्स्पेक्टर नरहरि अधिकारीले जानकारी दिए । ‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम भएपनि आयोजकको भावना विपरीत कार्य भएको पाइयो,’ उनले भने, ‘स्वतन्त्र युवा समूहले १ विज्ञप्ति पनि निकालेको रहेछ । प्रदर्शनमा तनाव सिर्जना गराउन उच्छृंखल व्यक्तिले त्यस्तो गरेको पाइयो ।’
सरकारले कोरोना भाइरस रोकथाममा उल्लेखनीय रुपमा काम नगरेको भन्दै पोखरामा बिहीबार बिहान ११ बजेदेखि प्रदर्शन सुरु भएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पर्याप्त पिसिआर परीक्षण नभएको, क्वारेन्टिन व्यवस्थित नभएको र सरकारले गरेको खर्च पारदर्शी नभएको प्रदर्शनकारीको भनाइ छ । स्वतन्त्र समूहले आयोजना गरेको प्रदर्शनमा केही राजनीतिक व्यक्तिहरुले घुसपैठ गरेको आयोजकले बताएका छन् । आयोजकमध्येकी १ मोनिका रानाभाटले उक्त विरोध प्रदर्शनको अन्तिम समयमा राजनीतिक दलसँग आबद्ध केही युवाले गरेको अभद्र व्यवहारको निन्दा गरेकी छन् । रानाभाटले लेखेकी छन्, ‘सरकारलाई कोभिड–१९ को व्यवस्थापन संवेदनशील र जवाफदेही बनाउने उद्देश्यका साथ पोखराका स्वतन्त्र युवाहरु मिलेर सहिद चोकस्थित जिल्ला प्रसाशन कार्यालय कास्की अगाडि गरेको मौन र शान्तिपूर्ण प्रदर्शनको अन्तिम घडीमा राजनीतिक दलसँग आबद्ध केही युवाहरुले गरेको अभद्र व्यवहारको हामी घोर निन्दा गर्दछौं ।’कार्यक्रमको मापदण्ड विपरीत कार्य गर्ने उक्त युवाहरुको आयोजकसँग कुनै सम्बन्ध नरहेको उनले जनाएकी छन् ।
|
२०७७ जेष्ठ २९, बिहीबार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC