लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त

|

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । साहले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका जनाएका छन् ।

पोखरेलले आजै पदबाट राजीनामा दिए लगत्तै एकल बहुमतको सरकार गठनका लागि ४१ सदस्यीय सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका थिए । त्यसलगत्तै हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य विमला केसी माओवादीतिर लागेको खुलासा भएको थियो । सोपछि उनी पुनः मुख्यमन्त्री बन्न सकस रहेको विश्लेषण हुँदै आएका अवस्थामा उनलाई प्रदेश प्रमुखले ‘फास्ट ट्र्याक’ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

 

२०७८ बैशाख १९, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।