निषेधाज्ञा थप कडा हुने, सीमा नाकाहरु बन्द गर्ने सिसिएमसीको निर्णय

|

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति ( सिसिएमसी) ले जारी निषेधाज्ञा थप कडा बनाउन सिफारीस गरेको छ । काठमाण्डौ उपत्यका सहित अति प्रभावित जिल्लाहरुमा निषेधाज्ञा लागू भएको छ । आज सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरुमध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने पनि निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द हुने भएको छ ।

यो निर्णयसँगै सरकारी कार्यालय र बैंक वित्तिय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछन् । सरकारले क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगमनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् । यस्तै बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्नेगरी खटाउन मन्त्रिपरिषद्मा सिफारिस पनि गरेको छ ।

यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । उद्योगहरु सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ । बैठकले नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ ।

२०७८ बैशाख १८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।