पुनर्निमित धरहराको प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

|

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको भावनाको प्रतीकका रुपमा रहेको धरहरा अब नढल्ने बताएका छन् । आज पुनर्निमित धरहराको उद्घाटन गर्दै सबैलाई दीपावली गर्न पनि प्रधानमन्त्रीले अपील गरेका छन् । अहिलेको नयाँ धरहरा निर्माणमा सबै सुरक्षित र सबल सामग्रीहरुको प्रयोग गरिएको हुनाले अब धरहरा कहिल्यै नढल्ने प्रधानमन्त्री ओलीले दाबी गरे ।

प्रधानमन्त्री ओलीले देशलाई अब दाताको हैसियतमा उठाउनु पर्ने भन्दै आ–आफ्नो ठाउँबाट प्रयास गर्न आह्वान पनि गरे । देश भित्र र बाहिर रहेका थुप्रै नेपालीहरुको २४ रुपैया धरहरामा परेको भन्दै यसमा जनताको भावना मिसिएको उनले बताए । पुनर्निर्मित धरहरा ८६।८५ मिटर अग्लो बनेको छ । पुनर्निर्मित धरहरा पहिलेको भन्दा करिब २५ मिटर अग्लो भएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा भत्किँदा ज्यान गुमाउने परिवारका एक जनालाई रोजगारी दिने बताएका छन्। ‘यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा भत्किँदा बाँच्न सफल भएकी बल्खु काठमाडौंकी रमिला श्रेष्ठलाई सम्मान गरेका छन् ।

२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो ।

२०७८ बैशाख ११, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।