
काठमाडौँ । सरकारले आज र भोलि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि पाँच वर्षमुनिका बालबालिका र जुकाको औषधि ‘अल्वेण्डाजोल’ एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई खुवाउन थालिएको जानकारी दिनुभयो ।
उक्त कार्यक्रम अन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट पाँच वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ ।
सरकारले २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि खुवाइँदै आएको छ । वर्षमा दुई पटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ । यस्तै भिटामिन ‘ए’ र जुकाको औषधिसँगै आज बालभिटा वितरणसमेत गर्न थालिएको छ । बालभिटा छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाउने गरिन्छ ।विसं २०७२ देखि शुरु गरिएको बालभिटा आठ लाख बालबालिकालाई खुवाउन थालिएको छ । बालभिटा ४६ जिल्लाका बालबालिकालाई दिइने गरिन्छ ।