रङहरुको आकाशले
आकार बदलिएपछि
उत्साहको ईन्द्रेणी रङ्ग पनि
ओझेल पर्दोरहेछ
हिउँको घुम्टो ओढेको
आँशु बनेर पग्लिएपछि
ढुंगाको पहरो पनि प्रष्टिदै जाँदोरहेछ
तिम्रो आफ्नै कर्मले
प्रकृति बिथोलिएको
यो अप्रिय प्रहरमा
नदेख्नु प्रिय कुनै मीठो सपना
नगुमाउनु ऊसंगको अग्लो विश्वास
नगाउनु जीवनको त्यो लयबद्ध मधुर गीत
बरु नियाल्नु
लाशहरुको पहाड अनि
खोज्नु आफ्नै सारङ्गीका तारहरुमा
वियोगको नुनिलो आँशुले मुछिएको
शोक धून
प्रिय कवि
कहिले नलेख्नु मनको कलमले
फूल टिपेर बोट नङ्गयाउने कथाहरु
नरङ्गयाउनु कहिले क्यानभासमा
मान्छेका आकार बदल्ने तस्वीरहरु
यी अक्षरहरुका बिहानीमा
मैले नियालेकी छु
घामका उज्याला किरणहरु
सुम्सुमाएकी छु
कवितामा सुन्दर बिम्बहरु
तिमी शब्दको संघारमा डुब्दैजाँदा
म बगीरहन्छु पानी जस्तै भएर
किनारै किनार
आखिर जीवन भनेको बग्नु नै त रहेछ
जसरी बग्छन्
पृथ्वीमा नदी र नदीमा डुंगाहरु
जसरी बग्छन् पहराहरुमा
छाँगा र छहराहरु
जसरी बग्छन्
जीवनको जस्केलाबाट
विक्षिप्त मनका छालहरू
प्रिय कवि
अब तिमीले लेखिदिनु
प्रकृतिका नवीन नियमहरू
सजाईदिनु टिपेर ईन्द्रेणीको बैजनी रङ्ग
हटाउँदै धर्तीको तुँवालो र
कोरिदिनु गुराँसको लालीले
शालीन प्रकृतिको समृद्धि मानचित्र
शालीन प्रकृतिको समृद्धि मानचित्र ।
– राधिका गुरागाँई
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको विश्वब्यापी खुल्ला “अनेसास अन्तर्राष्ट्रिय कविता प्रतियोगिता” मा प्रथम कविता ।
२०७७ भाद्र १८, बिहीबार प्रकाशित