विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने अभियोगमा २ जना पक्राउ

|

काठमाडौं / लिबिया र कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम लिएर बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका-९ का उद्धव घतानी र झापा मेची नगरपालिका-१० बस्ने गोरे भन्ने नर बहादुर श्रेष्ठ रहेका छन् ।
घतानीले एक नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाईदिने प्रलोभनमा पारी १ लाख ६० हजार रूपैया र १ हजार अमेरिकी डलर समेत लिई दुबई हुँदै लिबियाको त्रिपोली पुर्‍याई २०७५ भदौ महिनादेखि २०७६ साउन ८ गतेसम्म बन्धक बनाई राखेको घटनाको अनुसन्धान गर्न व्यूरोबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

साथै श्रेष्ठले तीन जना नेपाली महिलालाई कुबेत पठाउने भनी भारतको नयाँ दिल्ली पुर्‍याई एक अपार्टमेन्टमा बन्धक बनाउने कार्यमा संलग्न श्रेष्ठलाई व्यूरोबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका-१० स्थित उनकै घरमा फेला पारी असार ७ गते पक्राउ गरेको हो । नयाँ दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाइ राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरी नेपाल तीन महिलालाई नेपाल फर्काइएको थियो ।
दुवै जनाविरुद्द मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

२०७७ श्रावण ७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।