
काठमाडौं / कक्षा ११ मा हरेक विषयमा न्यूनतम ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा १२ को परीक्षा फारम भर्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार पारित गरेको कार्यविधिमा विद्यालयले कक्षा ११ को मूल्यांकन गर्ने र मूल्यांकनमा न्यूनतम डी प्लस ल्याएकाले मात्र कक्षा १२ को फारम भर्न पाउने उल्लेख छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिएर विद्यार्थीको मूल्यांकन गर्ने गरी कार्यविधि पारित भएको बताए । ‘पाठ्यक्रमले तोकेको आधार पूरा हुने गरी विद्यालयले परीक्षा लिने र एक कपी परीक्षा बोर्डमा पठाउनुपर्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘कक्षा १२ को आगामी वर्षको परीक्षा फारम भर्न ११ मा न्यूनतम डी प्लस ल्याएको हुनुपर्छ ।’ कक्षा ११ मा डी प्लस नल्याएका विद्यार्थीको १२ को परीक्षा फारम बोर्डले नबुझ्ने व्यवस्था गरेको उनले बताए ।
२०७७ श्रावण ७, बुधबार प्रकाशित