बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

|

काठमाडौं / बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी भक्तपुर बालकोट ठेगाना भएका ५६ वर्षीय मधुसुधन सिलवाललाई भक्तपुर सिद्धपोखरीबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सिद्धार्थ डेभलपमेण्ट बैंकको, बैंकिङ कसुर सम्बन्धी मुद्दामा बैंकका तत्कालीन संचालक समेत रहेका मधुसुधन २०७० असार ४ गते पक्राउ परी अनुसन्धान गरिएकोमा उच्च अदालत पाटनको २०७० साउन ११ गतेको आदेशले ३० लाख धरौटी माग भएकोमा धरौटी रकम तिरी तारेखमा रहेका थिए । मधुसुधनले अदालतको म्याद गुजारी बसेको हुँदा २०७३ असोज ४ गतेको उच्च अदालत पाटनको फैसला बमोजिम २ वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत हुने फैसला भएको थियो ।
यसैगरी सोही बैंकको बैंकिङ कसुर सम्बन्धी अर्को मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत २४ गतेको फैसला बमोजिम ३ वर्ष कैद र १ करोड जरिवाना फैसला भएकोमा दुबै मुद्दामा दोषी करार भई फरार रहेका थिए ।
निजलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत भक्तपुर पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

२०७७ श्रावण ५, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।