कोरोना महामारीबाट प्रभावित समुदायलाई राहत वितरण

|

नेपालगन्ज / कोभिड १९ बाट प्रभावित नेपागन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका सीमान्तकृत समुदायलाई राहत वितरण गरिएको छ । नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रले एक्सनएड नेपालको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. २, ६, १६, १७ र जानकी गाउँपालिकाको वडा नं. ३ र ४ मा कोरोना महामारीबाट प्रभावित पहिचान गरिएका २६२ परिवार मध्ये बिहिबार र शुक्रबार गरी १ सय ६५ परिवारलाई राहत वितरण गरिएको हो । बाँकीलाई शनिबार वितरण गरिने केन्द्रले जनाएको छ । जानकी गाउँपालिका वडा नं. ३ का अध्यक्ष बिन्देश्वरी कुर्मीले केन्द्रले वितरण गरेको राहतले बन्दाबन्दीबाट प्रभावित समुदायलाई सहयोग पुग्ने धारणा राख्नुभयोे ।

राहत प्राप्त गर्नुभएकी जानकी गाउँपालिका ३ की जमुर्ता पासीले बन्दाबन्दीका कारण घरपरिवारलाई छाक टार्न पारेको समस्या समाधानमा सहयोग पुगेको बताउनुभयो । केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवानले सम्बन्धित वडासँगको समन्वयमा बन्दाबन्दीका कारण प्रभावित अति विपन्न तथा सीमान्तकृत समुदायका पहिचान गरी विशेषगरी महिलाहरुलाई लक्षित गरी राहत वितरण गरिएको जानकारी दिनुभयो ।

बन्दाबन्दीबाट प्रभावितहरुलाई सहयोगका लागि खाद्य सामाग्रीका साथै साबुन, स्यानिटेरी प्याड, मास्क लगायतको कोभिड १९ किटका साथै महिला हिंसा तथा कोरोनाबाट सुरक्षित हुने उपायबारेमा सूचना सामाग्री पनि वितरण गरिएको छ । एक्सनएड नेपाल पश्चिमान्चल श्रोत केन्द्र नेपालगन्जका संयोजक विष्णुप्रसाद शर्माले एक्सनएड नेपालले काम गरेको समुदायका सीमान्तकृत समुदायका व्यक्तिहरुलाई कोरोना संक्रमणबाट जोगाउनको लागि राहत वितरण गरिएको जानकारी दिनुभयो ।

राहत पाउनेहरुमा दैनिक ज्यालादारी काम गर्ने, सुत्केरी तथा गर्भवती महिलाहरुलाई प्राथमिकता दिइएको संयोजक शर्माले बताउनुभयो । राहत वितरणलाई सहज र कम भिडभाड बनाउनका लागि वितरण स्थलमा सामाजिक दुरी कायम गरि वडा अनुसार राहत लिन बोलाइएको थियो । साथै वितरण स्थलमा तापक्रम मापन, हात धुने व्यवस्था पनि गरिएको थियो ।

२०७७ श्रावण २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।