सिताको अतीत

|
– दिपक घिमिरे
“ सिता तिमी कतिखेर आएकी ? मैले त झण्डै नचिनेको हेर कति दुब्लाएकी । के भएको छ, तिमीलाई ” ?एकै पटक प्रश्नको खात लाग्दा सिताको होस हवासै गायव होला जस्तो भयो । तर तिनीले यति चाडै आफ्नो होस हराउन दिइनन् र दाजु तिर फर्किएर अभिवादन गरी प्रश्नको जवाफ दिन थालिन । “भर्खरै आउदैछु दाजु, थकाई लागेर यसाएकछीन आराम गरौ कि भनेर बसेकी” । ” अव त थकाई मरी सक्यो होला नि, जाँऊ हिड घरमै गएर कुरा गरौला” । यति भनेर रमेश ले वहिनीको हात समाएर उठायो र दुवै दाजु बहिनी घर तिर लागे । घर पुगेर सवै सँग औपचारीक भेटघाट भयो । त्यस पछि सवै घरपरिवारहरु सँगै बसेर कुराकानी गर्न थाले । प्रसङ्गबस आमाले सिताको विषयमा कुरा खोतल्न थाल्नु भयो । “ सिता तँ कहाँ गएकी थिईस् छोरी आज सम्म तलाई हामीले कहाँ कहाँ खोजेनौ तर कहि पनि पत्ता लगाउन सकेनौ र चुप लागेर बस्न बाध्य भयौ । आज तँ यस्तो अवस्थामा कहाँबाट कसरी घर आई पुगिस” ।

एकछीन त आमाको कुराले सिता अक्क न बक्क भईन । पुन : आमाको आवाजले सितालाई झक्झकाई दियो । फेरी एकै छिनमा सिता टोलाएर के के सोच्न थालिन । “भनौ भने आफ्नै गल्तीले दाजु, आमाले भनेको नमान्दा अपरिचित व्यक्तिसँग घर छोडेर भागे । नभनौ भने यस्तो कहाली लाग्दो चित्कार कहाँ गएर कस्का सामु पोख्ने, फेरी मैले वास्तविकता लुकाएर कतिदिन आफै देखि टाढा भाग्ने” । यस्तै सोचेर सिताले आफ्ना कथा व्याथा पोख्न थालीन बलिन्द्र धारा आसुँ खसाउदै आफ्नो परिवारको सामु ।

” आमा, दाजु मैले तपाईहरुले भनेको नमान्दा र बैँसलाई बसमा राख्न नसकी आफु खुसी गर्दा आज यो दुर्दशा भोग्नु प–यो । आज म एड्स जस्तो जघन्य रोगको सिकार भएकी छु । आफ्नै लोग्ने भनौदोबाट बेचिएर म मृत्युको मुखमा पुगेकी छु । जव म तपाईहरु र यो घरलाई माया मारेर एउटा अपरिचित परदेशी युवकको माया जालमापरि यस घर बाट भागेर हिडे । त्यसै दिन देखि मेरो जिन्दगीको कहाली लाग्दो कथा सुरु हुन्छ ” ।

पुसको महिना थियो, औसीको अँध्यारो रात । मलाई रातभरी निन्द्रा लागेन निन्द्रा पनि कसरी लाग्थ्यो र बैसले हाँगा हालिसकेको थियो मेरो जिन्दगीमा । दिपेन्द्र जसलाई मेरो हृदय भरीको माया दिईसकेकी थिए र उसैसँग जनम् जनम्संगै वाच्ने कसम पनि खाईसकेकी थिए मैले र उसले पनि । तर के थाहाँ मलाई उसको माया झुठो र आडम्बरी अनि खोक्रो र पैसाको भोको छ भनेर । म त एकोहोरो मायामा चुलुम्व डुवेकी थिए । जव विहानको चार वज्यो हाम्रो पहिलो दिनको योजना अनुसार म उसलाई भेट्न डाडाको चौतारीमा गए । उसले अघि देखि नै मलाई कुरेर बसिरहेको रहेछ । मलाई देख्ने वित्तिकै उसको मुहारमा खुसी नै खुसी देखे मैले, अनि झन उसको माया प्रति विश्वास बढ्यो । निकै बेर अंगालोमा बाधियौं र माया प्रिति साटासाट ग–यौ । त्यस पछि पूर्वमा लालि किरण छाई सकेकाले हामी सहर तर्फ लाग्यौ । सहरमा दिपेन्द्रको डेरा थियो पहिले देखि नै, हामी सहर पुगेर केहि दिन उसैको पुरानो डेरामा बस्यौ । काठमाण्डौंको व्यस्ततामा हामीलाई कसैले भेटाउने शङ्कै भएन ।

मेरो सोह्र बर्से जोवन भर्खरै फक्रिन लागेको कोपीले बैँस सवै उसैको हातमा सुम्पीदिए । उसँग जिन्दगी विताउने भनेर आईसके पछि, अनि उसैको अंगालोमा जनम् जनम् बाधीरहने चाहना भएकोले मैले कुनै पनि कुरामा सम्झौता गरीन । उसले जे जे भन्यो । सबै कुरामा विश्वास गरे मैले । जसलाई जिवन साथी सम्झेर जिवन सुम्पीसके उसको कुरामा विश्वास नगरी रहन पनि त सकिन्न ।

दुई चार दिन काठमाडौंमा संगै विताएपछि उसले एउटा मन्दीरमा लगेर मेरो सिउदो भरिदियो । त्यस पछि त झन मैले उसलाई ह्रदयको देवता मानेर पुजा गर्न थालँे । म पनि त एउटी हिन्दु नारी हुँ । आफु खुसी भागेर विवाह गरेको भए पनि उ मेरो पति परमेश्वर थियो । मेरो जिन्दगीको अमुल्य बस्तु थियो । मेरो सिंगो भविश्य थियो ।

अनौपचारीक रुपमै भए पनि हामीले विवाह गरी सकेका थियौं । विवाह पछि उसले मलाई विराटनगर घुम्न जाने प्रस्ताव राख्यो । मैले सहजै स्वीकारेँ । विराटनगर लक्ष्मी चोकमा उसको साथीको घर रहेछ , शंकर नाम थियो उसको साथीको । हामी शंकरकै घरमा वस्यौं । पाचँ दिन पछि मैले विराटनगरबाट काठमाण्डौं फर्किने प्रस्ताव राखे दिपेन्द्रलाई , तर…….शंकरले हामीलाई फर्किन दिएन । शंकरले बम्बैमा उसको आन्टिको घर भएको र आफुलाई घुम्न वोलाएकोले हामीलाई पनि सँगै लिएर जाने प्रस्ताव राख्यो । मैले त बम्बै नगई काठमाडौं फर्किने विचार राखेकी थिए । तर दिपेन्द्रले शंकरसँगै बम्बै जाने निर्णय ग–यो । सायद यो उनिहरुको रणनिती थियो क्यारे, मैले केही बुझ्न सकिन र मैले पनि बम्बै जान मञ्जुर गरे, यो नै मेरो ठुलो भुल थियो ।

भोलिपल्ट विहानै उठेर हामी बसबाट जोगमनी तिर हानियौं । सिमामा थुप्रै प्रहरीहरु तैनाथ थिए । शंकरले त्यहाँ प्रहरीहरुसंग पनि चिनजान बढाएको रहेछ । त्यसैले होला हामीलाई प्रहरीले कुनै शंका गरेन । हामी भारतका विभिन्न शहरमा घुम्दै मुम्वई पुग्यौं र शंकरको आन्टिको घरमा पुगेर बस्यौं । रात परिसकेकोले खाना खाएपछि शंकर र दिपेन्द्र अर्को कोठामा सुत्न गए मलाई आन्टी भनाउदीसँग छोडेर । म थकाईले कति खेर निदाए थाहै भएन ।

प्रकृतिको नियम विहान भयो । सदा झैं चराहरुको चिरविर गानासँगै तर मलाई के थाहाँ की म लोग्नेको नाममा कसाही र साथीको नाममा केटी वेच्ने दलालीको हातबाट वेचिई सकेकी छु भनेर जसलाई शंकरले आन्टी भनेर चिनाएको थियो, त्यो आईमाई त कोठीको वाई पो रहीछ । विहान उठेर शंकर र दिपेन्द्रलाई खोज्दा पो उनिहरु मलाई वेचेर राती नै भागी सकेको थाहाँ पाए ।
बल्ल म काल्पनिकताबाट ब्युझिँएर वास्तविक्ताको धरातलमा आईपुगे । त्यस वेला मलाई पश्चातापको आगोले जलाउन थाली सकेको थियो । मलाई घरबाट भाग्नु भन्दा पहिले आमा र दाजुले भनेको शब्दले मेरो मष्तिष्कमा डेरा जमाउन थाल्यो । दाजुले सम्झाउनु भएको थियो “हेर नानी तँ अहिले होसमा छैनस् त्यो परदेशीको मायामा तँ पागल भएकी छस् जव तलाई होस हाउने छ त्यतिन्जेल सम्म तँ वर्वाद भईसक्नेछेस् । त्यसैले मैले भनेको मान त्यो दिपेन्द्रलाई विर्सिदे त्यसैमा तेरो भलाई छ” । आमाले भन्नु भएको थियो । “दाजुले भनेको कुरा ठिक हो छोरी । अपरिचित लोग्ने मान्छेको विश्वास र भरोसा हुदैन त्यस माथि पनि परदेशीको त के विश्वास, न घर न ठेगाना केही पनि त थाहा छैन । यिनीहरुले त मौका मिलेमा आफ्नै श्रमितीको काटेर मासु खान र बेचेर पैसा असुल्न पनि पछि पर्दैनन् त्यसैले त्यसलाई बिर्सिदे छोरी” ।
कोठीको नारकिय जिवन बिताउन साह्रेै गाह्रो प–यो मलाई । यो मेरो दुष्कर्मको फल हो । एउटा परदेशीको झुठो मायाजालमा फसेर जन्मदीने आमा र देवता जस्तो दाजुले भनेको नमान्दा प्राण घातक उपचारै नहुने रोगको सिकार भएँ र आफ्नो जिवन आफैले बर्बाद पारें । जुन दिन म त्यो नरकमा प्रबेश गरें त्यसै दिनदेखी खुसी र हाँसो सबै गुमाए । सयौको ओछयान बनेर हजारौ पटक ज्युदै मर्दा मैले कसम खाएर प्रतिज्ञा गरें कि जस्ले मलाई यो नर्कमा होमीदियो म त्यसको बदला नलिई छोड्दिन । एक बर्ष पस्चात म त्यो नर्कबाट भाग्न सफल भए । म जस्तै पिडित आफन्त भनाउदाहरुबाटै बेचिएकी नेपाली दिदीको सहायताबाट र घर फर्कन सफल भए । मलाई प्रतिज्ञा पुरा नगरी यस गाँउमा फर्किन मन त थिएन तर तपाईहरुको सम्झनाले सताउँदा मनको पिडा पोख्न र तपाईहरुसंग माफी माग्न आएकी हुँ । म भोली नै गएर प्रहरीमा रिपार्ट गर्छु र त्यो दिपेन्द्र र शंकरलाई कानुनको फन्दामा पार्नेछु ।

सिताको कहानीले सबै परिवारको आँखाबाट आँसु बगाईदियो । आँखाको आँसु पुछ्दै रमेशले वहिनीलाई सहानुभुती दिए–“बहिनी जसले तिम्रो अबोधपना र बिश्वासको फाईदा उठाएर आज तिमीलाई यो अवस्थामा पु–यायो ति समाजका किराहरुलाई सजाय दिलाउनै पर्छ । नत्र ति नरभक्षी अपराधीहरुले अरु चेलीबेटीहरुको पनि यस्तै हालत बनाउन सक्छन् । म पनि तिम्रो साथमा छु । तिमीले कहिल्यै आफुलाई एक्लो नठान म लड्छु तिम्रो लागी र तिम्रा ति अपराधीहरुलाई कानुनको जिम्मा लगाउने प्रतिज्ञा पुरा गर्न सहयोग गर्छु” । कुरै कुरामा कतिखेर रात बित्यो कसैलाई पत्तै भएन । बिहानको मिर्मिरे हुनै लागेको थियो । सिता र रमेश प्रहरी चौकी अगाडी पुगेर रोकीए । चौकीमा आफुलाई परेको सम्पुर्ण घटनाको बृतान्त बताए । त्यस पछि प्रहरीले सिताले दिएको बयानको आधारमा दिपेन्द्रको कोठामा र शंकरको घरमा गएर अभियूक्तहरुको खोज तलास गरे । अपराध लुकाएर लुक्दैन पाप धुरीबाट कराउँछ । आखिर अपराधीहरुलाई प्रहरीले पक्राउ ग–यो । दिपेन्द्र र शंकर दुबैलाई केरकार गर्दा उनिहरुले आफुले गरेको कालो करतुत स्वीकार गरे वास्तबिकता ऐना झै छर्लङ्ग भयो ।
सिताले अपराधीलाई कानुनले कडा भन्दा कडा सजाए दिनु पर्ने मागदावी गर्देै सम्माननीय अदालत समक्ष अनुरोध गरिन । अभियुक्तहरुको साविती वयान पस्चात दिपेन्द्र र शंकरलाई अदालतले चेलीबेटी बेचबिखन जस्तो अमानविय कार्य गरेको अभियोगमा पुर्पक्षको लागी थुनामा राख्ने आदेश दियो । सिता आफ्नो प्रतिज्ञा पुरा भएकोमा ज्यादै खुसी भईन र अन्तमा सिताले आफुलाई एड्स जस्तो भयानक रोग लागेको भएता पनि आफु बिचलित नभएको र आफ्नो बाँकी जिन्दगीमा अबोध,अञ्जान चेलिबेटी दिदी बहिनीहरुमा चेतनाको दियो बाल्ने र चेलिबेटी बेचबिखन विरुद्ध एकजुट भई लड्ने काममा लाग्ने प्रणका साथ परिवारसंग घर तर्फ लागीन ।

२०७७ असार २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।