नार्सिसिस्ट पार्टनर कसरी थाहा पाउने? ~ श्रीजा काफ्ले

|

आजकल धेरै मान्छेहरू ‘नार्सिसिस्टिक पर्सनालिटी’ बारे कुरा गरिरहेका छन्। तर ‘नार्सिसिस्टिक स्वभाव’  ‘नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर (NPD) बीच ठूलो भिन्नता छ।

एउटा कुरा के बुझ्न जरुरी छ भने, प्रत्येक नार्सिसिस्टिक स्वभाव भएको मान्छेलाई ‘पर्सनालिटी डिसअर्डर’ (NPD) नहुन सक्छ। तर, जसलाई नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर (NPD) छ, उनीहरूमा नार्सिसिस्टिक स्वभावका सबै नराम्रा लक्षणहरू अनिवार्य रूपमा हुन्छन्। स्वभाव मात्र भएकाहरूमा अलिकति भए पनि सुधारको सम्भावना हुनसक्ला, तर NPD भएकाहरूमा सहानुभूति (Empathy) को शून्य उपस्थिति र अरूलाई वस्तु (Object) ठान्ने प्रवृत्ति कहिलै परिवर्तन हुँदैन।

मैले आफ्नो जीवनको ३४ वर्ष नार्सिसिस्टिक मान्छेहरूको वरिपरि बिताएँ, जसमा १६ वर्ष त सबैभन्दा खतरनाक र कठोर नार्सिसिस्ट (Malignant Narcissist) NPD सँग बिताएँ। म मनोवैज्ञानिक वा थेरापिस्ट पक्कै होइन, तर म आफ्नै अनुभव र अनुसन्धानको आधारमा यो कुरा भन्दैछु।

नेपाली समाज र परिवारमा यो विषयमा धेरै कम जानकारी छ। तर करिव हरेक पॉच देखी आठ जनामा एकजना महिला वा पुरुष नार्सिसिस्ट हुन्छन् र आफ्नो परिवार तथा दाम्पत्य जीवनलाई नर्क बनाइरहेका हुन्छन् उनीहरूसँगको जीवन कस्तो हुन्छ, यी मुख्य बुँदाहरूबाट बुझ्न सकिन्छ:

. सुरुवाती भ्रम (Fairy Tale and Love Bombing)

सुरुमा उनीहरूले सबै कुरा यति सुन्दर र पर्फेक्ट बनाउँछन् कि तपाईंलाई कुनै ‘फेरी टेल’ (Fairy Tale) कथा जस्तो लाग्छ। उनीहरू सम्बन्धमा धेरै छिटो अगाडि बढ्न खोज्छन्, तपाईंलाई उपहारहरू दिन्छन् र तपाईंलाई पाउनका लागि जे पनि गर्न तयार हुन्छन्। यो समयमा उनीहरू तपाईंको बारेमा सबै कुरा जान्न चाहन्छन्। तर जब उनीहरूलाई लाग्छ कि अब तपाईं उनीहरूको कब्जामा हुनुहुन्छ, तब उनीहरूले आफ्नो असली रूप (True Colors) देखाउन सुरु गर्छन्। उनीहरूले सुरुमा बटुलेका तपाईंका जानकारी, कमजोरी र व्यक्तिगत कुराहरूलाई नै पछि तपाईंलाई नियन्त्रण र ‘म्यानुपुलेट’ (Manipulate) गर्न हतियारको रूपमा प्रयोग गर्छन्।

२. बन्द ढोकाभित्र र बाहिरको दुईवटा रूप (The Mask)

नार्सिसिस्टको सबैभन्दा गाह्रो कुरा नै उनीहरूको दोहोरो चरित्र हो। बन्द ढोकाभित्र त्यहाँ केवल तपाईंको अपमान (Invalidation), अवमूल्यन (Devaluation), र मानसिक खेल (Manipulation) मात्र हुन्छ। उनीहरू सानो कुरामा पनि भयानक क्रोध र रिस (Rage) देखाउँछन्। तर बाहिर साथीभाइ र आफन्तका अगाडि उनीहरू यति असल र आकर्षक (Charming) बन्छन्। ठिक्क पारेर बोल्छन्, चाकरी पनि गर्न सिपालु हुन्छन्; “ओहो कति हँसिलो मिजासिलो मान्छे रहेछ” भन्ने जस्तो बनाउँछन्।

. पाइला-पाइलामा डर (Walking on Eggshells)

तपाईंले सधैं सोचेर मात्र बोल्नुपर्ने हुन्छ। उनीहरू कुन बेला रिसाउँछन् भन्ने थाहा हुँदैन। सानो कुरामा पनि ठूलो झगडा गर्ने वा हप्तौंसम्म नबोल्ने (Silent Treatment) उनीहरूको हतियार हो। उनीहरूलाई खुसी राख्नका लागि तपाईंले सधैं आफ्नो इच्छा र खुसीलाई मार्नुपर्ने हुन्छ।

४. ग्यासलाइटिङ (Gaslighting) – भ्रममा पार्नु

उनीहरूले यस्तो व्यवहार गर्छन् कि तपाईंलाई आफ्नै कुरा र विवेकमा शंका लाग्न थाल्छ। उनीहरू झुट बोल्नमा यति सिपालु हुन्छन् कि सत्यलाई सर्लक्कै मोडेर तपाईंलाई नै बेकुफ बनाइदिन्छन्।

. सबै कुरा “म र मेरो” मात्र र अरूको उन्नतिमा जलन

उनीहरूको संसार आफ्नै वरिपरि मात्र घुम्छ। दया, माया र करुणा उनीहरूले महसुस नै गर्न सक्दैनन्। अरूको प्रगति र उन्नति देख्दा उनीहरू जलन र डाहले भुतुक्कै हुन्छन्। यदि कसैले सफलता पायो वा कसैको प्रशंसा भयो भने उनीहरूलाई सहनै सक्दैनन्। सबैको ध्यान र तारिफ केवल उनीहरू प्रती मात्र होस् भन्ने उनीहरूको चाहना हुन्छ। अरूको खुसीमा खुसी हुनुको सट्टा उनीहरू कसरी त्यो सफलतालाई कम महत्त्वको देखाउने वा त्यसमा खोट लगाउने भन्ने दाउमा रहन्छन्। मानौँ तपाईं बिरामी हुनुभयो भने, सहयोग र सहानुभूति देखाउनुको सट्टा उनीहरू झर्को मान्छन् र रिस देखाउँछन्।

६. तपाईंको खुसीमा विष घोल्ने स्वभाव (Sabotage)

रमाइलो जमघट वा चाडबाडको बेला उनीहरूले ठ्याक्कै त्यही समयमा एउटा न एउटा निहुँ झिकेर झगडा सुरु गर्छन्। अरू रमाएको देख्दा उनीहरूलाई असह्य हुन्छ, त्यसैले सबैको ध्यान आफूतिर तान्न र माहोल बिगार्न उनीहरू जानीजानी कलह मच्चाउँछन्। यसमा उनीहरूलाई कुनै फरक पर्दैन।

७. दोषारोपण (Blame Shifting)

आफ्नो गल्ती कहिल्यै स्वीकार गर्दैनन्। यदि उनीहरूले केही गलत गरे भने घुमाई-फिराई दोष तपाईंको टाउकोमा नै थुपार्छन्।

८. परिवर्तनको भ्रम:

यस्ता लक्षणहरू ७-८ वर्षकै उमेरदेखि देखिन सक्छन् र किशोरावस्था पछि यो झन् उग्र हुन्छ। कहिलेकाहीँ जीवनको ठूलो उतारचढाव वा रोगका कारण उमेर ढल्किँदै जाँदा उनीहरू अलि शान्त (Mellow) भएको जस्तो देखिन सक्छन्, तर यो केवल बाहिरी परिवर्तन मात्र हो। उनीहरूको भित्री स्वभाव र सोच कहिल्यै पूर्ण रूपमा फेरिँदैन।

९. ग्रे स्टोन मोड (Grey Stone Mode)

जब अलग हुनु सम्भव हुँदैन

कहिलेकाहीँ परिस्थिति यस्तो हुन्छ कि हामी सम्बन्धबाट बाहिर निस्कन सक्दैनौँ, वा नार्सिसिस्ट व्यक्ति हाम्रै आमाबुवा हुन सक्छन्। यस्तो अवस्थामा आफूलाई मानसिक रूपमा सुरक्षित राख्न ‘ग्रे स्टोन मोड’ अपनाउनुहोस्। एउटा ‘फुस्रो ढुङ्गा’ जस्तै बन्नुहोस्। उनीहरूले उक्साउन खोज्दा कुनै पनि भावनात्मक प्रतिक्रिया नदिनुहोस्। तपाईंको जवाफ एकदमै छोटो र नीरस हुनुपर्छ (जस्तै: “हुन्छ”, “ठिक छ”)। आफ्ना व्यक्तिगत कुरा, खुसी वा कमजोरीहरू उनीहरूलाई सुनाउन बन्द गर्नुहोस्, नत्र तपाईंलाई त्यही कुराहरूलाई लिएर तपाईंको ‘म्यानुपुलेसन’ (Manipulation) गर्छन्।

१०. योजना र बुद्धिमानीपूर्वक छुटकारा

यदि तपाईं बाहिर निस्कन चाहनुहुन्छ भने, निकै बुद्धिमानी र चनाखो हुनुपर्छ (Be wise and smart)। हतारमा निर्णय नगर्नुहोस्, हरेक कुराको उचित योजना बनाउनुहोस् (Plan everything accordingly)। नार्सिसिस्टले सजिलै छोड्न चाहँदैनन्; फकाउने वा आफन्तको गुहार लिने नाटक गर्छन्। यो माया होइन, केवल नियन्त्रण गुम्न लागेको छटपटी हो।

११. चरित्र हत्या र सामाजिक मानहानी

जब नार्सिसिस्टले तपाईंलाई आफ्नो औँलामा नचाउन सक्दैनन्, तब उनीहरूले तपाईंको चरित्र हत्या गर्न सुरु गर्छन्। समाज, आफन्त र साथीभाइको अगाडि तपाईंको बारेमा नराम्रो कुरा फैलाउँछन्। उनीहरू यति सिपालु हुन्छन् कि आफूले गरेको अपराध लुकाउन तपाईंलाई नै ‘अपराधी’ वा ‘पागल’ सावित गरिदिन्छन्।

निष्कर्षमा अरू के भनूँ र खै? मैले राम्ररी बुझेकी छु,

मैले भन्दैमा केही हुनेवाला छैन किनकी परिवर्तनको लागि आफू भित्रै बाट जागरूकता आउनु पर्छ। तर पनि यति भन्न चाहन्छु कि वन डढेको सबैले देख्छन्, तर मन डढेको कसैले देख्दैन। कस्ले के भन्ला भनेर किन डराउने, आफ्नो ख्याल आफैँले नराखे कसले पो राखिदेला र? जसले जस्तो बुझ्छ बुझ्न दिनुहोस्, त्यो तपाईंको सत्य होइन, उनीहरूको अनुमान मात्र हो। लगाउन दिनुहोस् अनुमान, के फरक पर्छ र?

हामी सबै लाइ  सुन्दर र सुरक्षित जीवन जिउने अधिकार छ। बस, इच्छाशक्ति प्रबल हुनुपर्छ।

 

निष्कर्षमा भन्नुपर्दा यो लेखबाट नार्सिसिस्टसँगको सम्बन्ध मानसिक रूपमा अत्यन्तै गाह्रो हुन्छ। परिवर्तनको आशा नगरी, आत्म-सुरक्षा र जागरूकता आवश्यक हुन्छ। लेख अन्त्यमा आत्मबल, इच्छाशक्ति, र सुरक्षित जीवनको अधिकारको सन्देश दिन्छ।

२०८२ पुष ७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।