योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड
नेपालगन्ज । विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी जागरण फैलाउने उद्देश्यले आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि बिशाल बोहरा र आयुष्मा सिंहले जितेका छन् ।
शनिवार खजुराको सितापुर गौघाटमा भएको गौघाट ग्रीन रनमा छात्र ६ किलोमिटरमा शुक्र माविका बिशाल प्रथम हुँदा जनसेवा माविका उपेन्द्र बम दोस्रो र जनसेवाकै निशान्त विक तेस्रो भए । त्यसैगरी ३ किमी छात्रातर्फ जनता माविका आयुष्मा पहिलो हुँदा जनता माविका कबिता क्षेत्री दोस्रो र जनसेवा माविका मेलिसा घर्ती तेस्रो भए ।
किड्स रन(१२ बर्ष मुनि)मा छात्रतर्फ योगिनी माविका शिव विक, जनसेवा माविका शिसीर सुनार र योगिनी मावि समीर सार्की शीर्ष तीन स्थानमा आए । त्यस्तै छात्रातर्फ जनसेवा माविका सिम्रन दमाई, नेरा प्रावि गुराँसपुर बर्षा चन्द ठकुरी र योगिनी माविका करुणा चनारा पहिलो दोस्रो र तेस्रो भए ।
कार्यक्रममा योगिनी माविलाई बेस्ट पार्टिसिपेसन अवार्ड तथा शुक्र माविलाई फास्टेस्ट रनिस्ट्रेसन अवार्ड प्रदान गरियो । योगिनीले १९२ जना सहभागी गराएर यो अवार्ड प्राप्त गरेको हो भने शुक्रले सबैभन्दा पहिले ७५ जना दर्ता गरेको हुँदा फास्टेस्ट रजिस्ट्रेसन अवार्ड प्रदान गरिएको थियो । तीन किलोमिटर दौड पुरा गरेकोमा ८५ बर्षीय शोकबहादुर खत्री र ८० बर्षीय धनबहादुर महतारालाई बिशेष सम्मान गरियो । त्यस्तै फरक क्षमता भएका(सुस्त श्रवण)मध्ये ६ जनाले पनि दौड पुरा गरेका थिए ।

लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री रत्न खत्री, खजुरा गाउँपालिका प्रवक्ता एवं वडा नं २ अध्यक्ष धनराम ओली, विश्वकीर्तिमानी धावक हरिबहादुर रोकाय, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
खजुरा गाउँपालिका वडा नं. २ सँगको सहकार्यमा सात सय जना दौड पुरा गर्ने सबैलाई ताइवानी अम्बाको बिरुवा वितरण गरिएको थियो । दौड पुरा गर्ने सबैलाई पदक वितरण गरिएको थियो । हरेक विधाका शीर्ष १२ जनालाई मंसिर ५ गते हुने १२औं धारा नेपालगन्ज म्याराथनमा स्वतः सहभागी गराइने धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए । एक बर्षमा सबैभन्दा राम्रोसँग बिरुवा हुर्काउने दश जनालाई आयोजकले बिशेष ढंगले पुरस्कृत गर्ने जनाएको छ । यसले विद्यार्थी शिक्षक र अभिभावकलाई थप उत्साहित बनाएको लुम्बिनी प्रदेश खेलकुद परिषदका संस्थापक सदस्यसचिव भिम ओलीले बताए । हरेक बर्ष असोजको पहिलो हप्ता गौघाट ग्रीन रन आयोजना गरिनेछ । धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गौघाट ग्रीन रन हुँदै आएको छ । गौघाट ग्रीन रनमा रोटरी क्लब अफ बाँके, एम्स, खजुरा वडा नं २, प्रज्ञालय, गोपाल नीना फाउन्डेसन, योगिनी युवा क्लबको सहकार्य रहेको छ ।






