
यसरी बिभाजित छ नेपाली राष्ट्रियता
कोरोनासगै नेपालमा “राष्ट्रियता”पनि तातेको छ। जसरी कोरोना र यसले ल्याएको समस्या वेवारीसे भएको छ, त्यस्तै नेपाली “राष्ट्रियता” पनि वेवारीसे भएको भान हुन्छ । किन की हाम्रो “राष्ट्रियता” विभाजित देखिन्छ ।
राष्ट्रियतासँगै देश पनि विभाजित छ । जनता विभाजित छन, भाषा विभाजित छ, संस्कृती विभाजित छ, भुगोल विभाजित छ गहिरिएर हेर्दा नागरिकहरुबिच भावना, विकास, यो नेपालीको मन सबै विभाजित छ ।
लाग्छ हामी अहिले यो देशको राष्ट्रियता खोजीरहेका छैनौं । बुझेर खोजेनौं अथवा नबुझेर अथवा बुझपचाएर जसरी होस् हामीले देशको राष्ट्रियता खोजिरहेका छैनौं । मात्र एक अर्कोलाई धारो हात लगाएर तेरो, मेरो, तेरो पाटीको, मेरो पाटीको, मधेसको, पहाडको, उत्तरको या दक्षिणको राष्ट्रियता खोजिरहेका भेटिन्छौं ।
राष्ट्र र राष्ट्रियता
समान्यत आधुनिक राष्ट्रको परिभाषामा जनता, भुगोल, सरकार र सर्बभौमसत्ता यी ४ आधारलाई राष्ट्र हुन आबश्यक आधारभुत विशेषता मानिएको छ । हुन त एक सबल राष्ट्र हुनको लागी अन्य धेरै कुराहरु चाहिन्छ ।
रष्ट्रियताको परिभाषामा पनि इतिहास, धर्म, संस्कृती, भाषालाई आधारभुत विशेषता मानिएको छ जसले राष्ट्रलाई चलायमान गराउँछ र चिनाउँछ।
सानो र छोटो अर्थमा बुझ्ने हो भने राष्ट्र भनेको माटो हो राष्ट्रियता त्यो माटो प्रतिको नागरिकको प्रेम हो । राष्ट्रले भुगोल देखाउछ अनि राष्ट्रियताले नागरिकहरुको भुगोल प्रतिको भावना र एकता बुझाउँछ ।
जब राष्ट्रियता संकटमा पर्छ राष्ट्रको अस्तित्वको प्रश्न उठ्छ। राष्ट्र मुलतः नागरिकहरुको राष्ट्रियताको सुरक्षाको लागी संगठित गरिएको हुन्छ । नागरिकले भन्न सक्छ मलाई यो राष्ट्र किन चाहियो ? म किन यो राष्ट्रको पहरेदार बनु जब मेरो राष्ट्रियताको त्याहा सुरक्षा नै छैन ।
यसकारण एउटा राष्ट्रको जग त्यसको भुगोल हुन सक्दैन । यदि यस्तो हुदो हो त आज सोभियत संघको अस्तित्व सकिदैनथियो । किनकी तेत्रो विशाल भुगोल हेर्दाहेदै विलिन भयो । त्यो विशाल भुगोलले केही काम गरेन किन की त्यहा राष्ट्रियता विभाजित थियो ।
नेपालको सन्दर्भमा जब नेपाल एकिकृत भयो राष्ट्रपिता पृथ्वि नारायण शाहाले भुगोलसँगै भावना र एकतालाई जोड दिएका थिए । त्यसैले उनले भनेको थिए नेपाल राज्य “४ जात छतिस बर्णको फुलबारी हो”।
यिनै फुल रुपी नागरिकहरुको धर्म, संस्कृती, रितिरिबाज र भाषाहरुको सुगन्धले राष्ट्र चिनिन्छ, बुझिन्छ, पढिन्छ अनि लेखिन्छ । राष्ट्रमा सबै फुल फुल्न, फल्न, सुगन्ध फैलाउन र रमाउन समान अवसर चाहिन्छ ।
सबै नागरिकहरुको आत्मसम्मानको अधिकार एक राष्ट्रको आधारभुत दायित्व हो । जुन राष्ट्रमा सबै नागरिकहरुको राष्ट्रियताको आत्मसम्मान हुदैन त्यहा विद्रोह, विग्रह शुरु हुन्छ ।
राष्ट्रियताको बिभाजन किन ?
हाम्रो राष्ट्रियता विभाजित हुन पुगेको छ त्यो पनि राष्ट्रियताकै नाममा । यो आफैमा विडम्बना हो जब की राष्ट्रियताको कुराले नागरिक विच एकता र पे्रमको विश्वास जोडिनु पर्ने थियो तर त्यसको ठिक उल्टो हामी विभाजनको रेखा गाढा रंगमा कोरिरहेको छौ ।
राष्ट्रियतामात्र होइन आज राष्ट्रको राष्ट्रिय स्वभिमान पनि डगमगाएको छ। जसले नेपाल निर्माण गरे, दिब्यउपदेशहरु दिए, राज्य बनाउन, चलाउन सिकाए आज उनी हाम्रो लागी अपराधि देख्छौं । उनलाई यो देशले सम्झनु पाप नै ठहराएका छौ।
सोचौ त नेपालको राष्ट्रपिताको दिब्यउपदेश भन्दा राम्रा ज्ञान के हुन सक्छ एक राष्ट्रबादिको लागी ? हामीले हाम्रा राष्ट्रपिताबाट प्रशिक्षण त लिन सक्दैनौं, के उनले दिएको उपदेशहरु अध्ययन गरेर राज्य संचालन गर्न सक्दैनौं ? हामीलाई अन्य कसैले बाहिरबाट शिक्षा दिनु पर्छ र ?
प्रश्न उठ्नु स्वाभाविक हो किनकी हामी राष्ट्रियता नेपालमा होइन, नेपाल बाहिर खोजीरहेकाछौं । जबसम्म हामी राष्ट्र भित्र राष्ट्रियता खोज्दैनौं र आम नागरिकहरुको राष्ट्रियताको संरक्षण गर्न सक्दैनौं राष्ट्रियताको यो आन्दोलन एक फगत जनता र देश प्रतिको बैमानी हुनेछ र अन्तत यही राष्ट्रियतानामको आन्दोलन देशको विकासको बाधा बनेर उभिने छ ।
अब केही विभाजित राष्ट्रियताको कुरा गरौं । जहाँ हामी स्पष्ट देख्न सक्छौं हाम्रो राष्ट्रियता कसरी बिभाजित रहेको छ ।
सिमामा विभाजित
कालोपानी क्षेत्र जुन सबै प्रमाणले नेपालको बताउछ तर विगत ५० औं बर्ष देखी नत हामीले त्यस भुभागलाई देशको नियन्त्रणमा राखेकाछौं नत विगतमा जारी गरेको देशको नक्सामा समेटेका थियौं ।
भर्खर हामीले नयाँ नक्सा जारी गरेका छौ र नेपालको नक्सामा प्राविधीक रुपले छुटेको हाम्रो माटोलाई जोडेका छौं तर विडम्बना देशको माटो समेटिएको नक्सा प्रकाशित गर्दा समेत मानसिक विभाजन देखियो ।
स्पष्ट रुपमा मधेशका सबै राजनितिज्ञहरुले पहाडिया राजनितिज्ञहरुलाई उनीहरुको देश भक्ती माथि शंका गर्ने गरेको दुखत विचार राख्न बाध्य भएको देखियो ।
माननिय राजेन्द्र महतो ज्यूले संसदमा “मधेशी भनेपछि राष्ट्रियतामा शंका गर्ने ? प्रत्येक मधेसी सेना भएर सीमाको रक्षा गरेको छ, राज्यले मधेश र त्याहाको जनतालाई विभेद गरे पनि, सरकारले विभिन्न प्रकारले पीडा पुर्याए पनि सीमा रक्षाका लागि लडेको छ, मरेको छ”भन्नु मधेश प्रति राज्यले आत्मसम्मान दिन नसकेको प्रष्ट देखिन्छ ।
त्यस्तै माननिय उपेन्द्र यादबले “महाकाली सन्धी हुँदा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने एमालेका नेता केपी शर्मा ओली महाकाली सन्धी गर्न खुलेरै लागेका थिए अनि ‘राष्ट्रघात आफू गर्ने, मधेशीलाई राष्ट्रघाती भन्ने ?”यसरी मधेस प्रतिको बफदारीमा गरेको शंकाको प्रतिबाद गरेका थिए।
यि त मैले सांकेतीका रुपमा उठाएको केही दृष्टान्त मात्र हो त्यस्ता धेरै नेताहरुले भावना, एकताको विभाजित राष्ट्रियताको कुरा गरेका थिए र गरिरहेकाछन । माननिय सरीता गिरीले त स्पष्ट रुपमा छुट्टै धारणा राख्दै संसद नै बहिस्कार गरेकी थिइन्।
हुनत हामीले यसलाई सहजै राष्ट्रघातीको संज्ञा दिएर उम्किने सरलबाटो खोजीरहेका छौं । जाहा राष्ट्रियताको मुख्य जड राष्ट्रिय भावना, एकता, अपनत्व र आत्मसम्मान नै विभाजित देखिन्छ त्याहा स्पष्ट राष्ट्रियता विभाजित हुन्छ जुन राष्ट्र, राष्ट्रियताको लागी घातक शिद्ध हुनसक्छ ।
नागरिकतामा विभाजित
अर्को गम्भिर विभाजन नागरिकतासँग छ । कसैले बुहारी, कसैले चेली, कसैले ज्वाईलाई नागरिकता दिनु राष्ट्रधाती देख्छन, त कसैले देख्दैनन । यो कसरी सम्भब छ, एक देश एक राष्ट्रियता तर किन विभाजन ?
नेकपाले भन्दैछ देशको राष्ट्रिता जोगाउन अंगृक्रित नागरिकता लिन ७ बर्ष कुर्नु पर्छ । अन्य धेरै पाटीहरु भन्दैछन यो राष्ट्रियता विरोधी कुरा हो किनकी यसले हिजो देखी चलिआएको संस्कृती, रितिरिवाज, मित्रता माथि आघात पुर्याउछ ।
माननिय रामनारायण विडारीले ‘अब हामी धेरै सरिताहरू चाँडै अंगिकृत बनाएर देशमा मन्त्री सांसद बनाउने मेलोमा छैनौं,’ भनेर स्पष्ट अंगिकृत नागरिकता लिनेहरुलाई अप्रत्यक्ष रुपमा राष्ट्रधाती हुन भन्न खोज्नु भएको देखिन्छ ।
त्यस्तै माननिय महेन्द्र राय यादबले “भारतीय चेली ल्याउँदा राट्रघाती भन्ने गलत हो । हामी सबै राष्ट्रवादी हो । शंकाको दृष्टिले नहेरियोस”भन्दै राष्ट्र र राष्ट्रियताको सुरक्षा हामी सबैको साझा हो भन्ने संकेत गर्नु भएको देखिन्छ ।
यस्ता धेरै उदाहरणहरु छन जसले एकै देशका, एकै अधिकार र संविधान मानेर बसेकाहरु विभाजित रहेको देखिन्छ । उनीहरुको मन, उनीहरुको भावना, उनीहरुको एकता त विभाजित छ नै, एकले अर्को प्रति देश प्रेम, राष्ट्रियता माथि नै प्रश्न उठाउने गरेको डरलाग्दो अबस्था छ ।
मधेस र पहाडविच विभाजित
देशले निरन्तर मनोबैज्ञानिक रुपमा लडिरहेको अर्को विभाजन हो मधेशी र पहाडि ।
“काठमाडौंका पहाडे शासकहरूले विजित भूमि ठानेको क्षेत्रका जनतालाई पनि समान अधिकार ”भन्दै २००७ सालकै सेरोफेरोमा तराई कांग्रेस जन्मेको देखिन्छ सायद यही आधार नै क्षेत्रीयताको जग हुनसक्छ ।
तराई कांग्रेसको नेपाली काँगेससँगको विलयसँगै मधेश मुद्दा नेपाली कांग्रेसले बोकेको देखिन्छ । मधेशवादी दलहरूका हालका प्रायः प्रणेता पनि कांग्रेसबाटै असन्तुष्ट भएर निस्किएकाहरू देखिन्छन् ।
यसले विभाजन तब स्पष्टरुपमा देखा पर्यो तब मधेशमा क्षेत्रिय पाटीहरुको पनि उदय भयो । कल्पना गर्न सकिन्छ पहाडिया शासकहरुले निरन्तर रुपमा मधेश प्रति गरेको शंका नै थियो जसले आम मधेशका जनता विच मधेसी अधिकारको झण्डा बोक्न र त्यो झण्डालाई बलियो बनाउन सफल भयो ।
अर्को डरलाग्दो पाटो भनेको सशस्त्र विद्रोहकालमा माओवादी पाटीले मधेशलाई प्रयोग गर्नु । उसले “स्वायत्त प्रदेश“ को नारा सहित मधेशी अभियन्ताहरूविच मधेशको पिछडापनको कारक काठमाडौं हो भन्ने भावना जसरी अगाडि बढायो जसको कारण आम मधेशीहरूलाई “स्वायत्तता” ले आकर्षित गर्यो र पहाडियाहरुलाई उनीहरुको अपराधी महसुस पनि गरायो ।
सायद माओबादीहरुले केही राजनितीक फाईदा उठाए होलान तर एउटा विभाजनको रेखा कोर्न मद्दत गरेको प्रष्ट देखिन्छ । अन्तत माओवादीले हतियार बिसाउन सफल भए पनि यो नारालाई विसाउन सकेनन ।
यसरी शुरु भएको मधेश र पहाड विचको यो राष्ट्रियताको लडाई विगतमा मधेश केन्द्रित दलहरुले स्पष्टरुपमा “एक मधेश एक प्रदेश”,“स्वायत्त मधेश”“अत्मनिर्णयको अधिकार सहितको मधेश प्रदेश” जस्ता विभाजित राष्ट्रियताका मागहरुसम्म अगाडि बढेको देखिन्छ र यो अहिले पनि संविधान संशोधनको नामा अड्कीरहेकोछ ।
उत्तर र दक्षिण विच विभाजित
दुई ठूला र उदियमान राष्ट्र भारत र चिन विच घेरिएका हामी यही घेराई नै आज अभिसाप होकी भन्ने भान भएको छ । हुन त नेपालका राष्ट्रपिता पृथ्वीनारायण शाहले स्पष्ट भनेका थिए “नेपाल राज्य दुई ढुंगाबीचको तरुल हो” ।
राजनैतीक, समाजीक, आर्थिक रुपमै एक अर्को विच टकराबको स्थितीमा रहेका भारत र चिन विचको सम्बन्धलाई हामीले अति विशिष्ट रुपमा अगाडि बढाउन सकेनौं भने हामी तरुल जस्तै कुल्चिने अबस्थामा पुग्ने शंका गर्न सकिन्छ ।
प्रष्ट रुपमा भन्ने हो भने नेपालका राजनितिक पाटीहरु उनीहरुको भनाईबाट नै कुनै न कुनै रुपमा उत्तर दक्षिणको राजनितीको पदचाप बन्न खोजेको भान हुन्छ । हिजो जब नेपाली कांग्रेस सत्तामा थियो नेकपाले स्पष्ट रुपमा नेकालाई भारतिय विस्तारबादीको पिछलग्गुको संज्ञा दिने गरेको थियो ।
आज नेकपालाई नेकाले स्पष्टरुपमा चिनसँग ढल्किएको भनेर आरोप लगाईरहेको छ। मधेशका आजको सबै पाटीहरुलाई त नेकपा लगाएतका पाटीहरुले भारतिय स्वार्थसँग जोडिएको भनेर निरन्तर आरोप लगाई रहेका नै छन् ।
यसरी उनीहरु आफुलाई राष्ट्रबादी देख्छन भने अर्को पाटीलाई राष्ट्रधाती । चिनको कप्युनिष्ट पाटीसँग राज्य संचालनको लगी लिएको कक्षा नेकपाको लागी राष्ट्रबादी प्रमाणीत भयो भने अन्य पार्टीहरुको लागी राष्ट्रधाती ।
कुनै पाटी र नेतालाई भारतसँगको आफ्नो नजिकपन र सहकार्यता राष्टबादी हुन्छ भने अर्को पाटी र नेताको सामिप्यता राष्ट्रधाती । यसरी एकै प्रकारको व्यवहार आफुले गर्दा राष्ट्रबाद र अर्कोेले गर्दा राष्ट्रघात देखिन्छ ।
देशको प्रधानमन्त्रीको भर्खरको यो भनाई “यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ । ” हेर्नुस त कति घातक छ यो भनाई यो राष्ट्रको लागी ।
प्रष्ट छ हामीहरु स्पष्ट विभाजित छौं त्यो पनि राष्ट्रियताको खोलमा राष्ट्रियताको लागी । के देशको प्रधानमन्त्रीले यसरी प्रष्ट रुपमा म चिनको नजिक छु, मलाई हटाएर देखा भनेर अर्को देशलाई, त्यो पनि असंलग्न निती लिएको देशको कार्यकारी प्रमुखले भन्नु कहाँ सम्मको कुटनितीक गैरजिम्मेदारी हो ?
के एक देशको जनताहरु विच राष्ट्रियता फरक हुन्छ र ? यदि हुन्छ भने अबश्य देश विभाजन र राज्य विभाजनको संकेत हो । कतै हामीहरु राष्ट्रियताकै खोलमा राष्ट्र र राष्ट्रियता नै विखण्डनको बाटो तिर लाग्दै त छैनौं ?
भाषामा विभाजित
जब हामी राष्ट्रियताको कुरा गर्दछौं त्यसको आधारभुत आधार नै भाषा हो । हामी यही भाषा मै बिभाजित छौं । कसैलाई हिन्दी भाषा बोल्दा राष्ट्रिय भावना बोकेको, मधेशलाई एक साङ्लोमा जोडेको जस्तो लाग्छ कसैलाई राष्ट्रधात गरेको भान हुन्छ ।
संसदमा हामीले देखेका छौं केही हिन्दी भाषाबाट सपथ लिएर राष्ट्रबादी भएका छन भने कोही नेपाली भाषाबाट ।
अन्तमा, यस्ता धेरै अन्य क्षेत्रहरु छन जहाँ हामी राष्ट्रियता कै नाममा विभाजित छौं । यि पाटाहरु देख्दा जति सहज देखिन्छ त्यती नै भयांकर र डरलाग्दो हावाहुरीको संकेत पनि हो, जसले हामी राष्ट्रियता कै नाममा कुनै दिन हाम्रो राष्ट्रियता दाउमा राख्नु पर्ने अबस्थामा पुग्न सक्नेछौं ।
विश्बको इतिहास साक्षी छ । साक्षीमात्र होइन त्यो इतिहास निर्मम र निर्दयी पनि छ । यसकारण हामीले यिनै विभाजित राष्ट्रियताहरु विच एकता, सम्मान, सहिष्णुता, सहकार्य, प्रेम, सदभाव र नागरिकहरुको आत्मसम्मान जोगाउन सक्नुपर्ने हुन्छ।
राष्ट्र त्यो दिन सम्म प्यारो हुन्छ जुन दिन सम्म नागरिकहरुले उनीहरुको राष्ट्रियता सुरक्षित र उनीहरुको आत्मसम्मानको सम्मान भेट्छन अनि जुन दिन उनीहरुलाई उनीहरुको राष्ट्रियता असुरक्षित र आत्मसम्मानमा चोट पुग्छ राज्य त्याग्न सक्छन्।
किन की राज्य आम नागरिकहरुको राष्ट्रियताको एकिकृत रुप हो जसले उनीहरुको राष्ट्रियता सुरक्षित गर्न सक्नु पर्छ । यस विषयमा विशेषगरि देशको प्रभुद्धबर्गहरु सचेत र सजग हुनु अत्यन्त जरुरी छ ।