नेपालमा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

|

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये २७२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् । यस्तै कोरोना भाइरस संक्रमणबाट थप दुईको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा असार २० गते शनिबार बिहान ५ बजे मृत्यु भएको बताए । उनी मधुमेहका बिरामी थिए । उनको असार १९ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनी १७ गते कतारबाट नेपाल फर्किएका थिए । मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन् । उनी क्षयरोगको उपचार गराइरहेका थिए । उनको असार १७ गते मृत्यु भएको र कोरोना रिपोर्ट पोजिटिभ भने असार १८ गते आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

२०७७ असार २०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।