जाजरकोट(दशेरा) । शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरुको सिकाइ उपलब्धि वृद्धि गर्न छेगागाड नगरपालिकाका शिक्षकहरुले प्रतिबद्धता जनाएका छन् । छेडागाड नगरपालिकाका वडा नं १ देखि ६ वडामा रहेका विद्यालयका शिक्षकहरुका लागी ५ दिने सकारात्मक अनुशासन, सामाजिक संवेगात्मक सिकाइ र लैङ्गिक समता एवं सामाजिक समावेशीकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सो प्रतिबद्धता जनाएका हुन् । तालिम पश्चात शिक्षकहरुले आ–आफनो विद्यालयमा पनि सो तालिम सन्चालन गर्ने कार्य योजना समेत बनाएका छन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको आयोजना तथा छेडागाड नगरपालिकाको समन्वयमा उक्त प्रशिक्षक प्रशिक्षण ताालिम सम्पन्न भएको हो । शिक्षकहरुलाई समावेशी शिक्षा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, मनोसामाजिक सिकाइ, सकारात्मक अनुशासन, शिक्षकहरुको उत्प्रेरणा, कक्षाकोठा व्यवस्थापन, डिजिटल सीपहरु लगायत एकिकृत पाठ्यक्रममा शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न र विद्यार्थिहरुको सिकाइ उपलब्धि वृद्धि गर्न, विद्यार्थिहरुको टीकाउदरमा वृद्धिमा सहयोग पुर्याउनको लागि सो तालिम सन्चालन गरिएको शिक्षा परियोजना संयोजक सोम गुरुङ्गले बताउनुभयो ।
यही जेठ २२ गते देखी २६ गते सम्म सञ्चालित तालिमको सहजीकरण पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका शिक्षा परियोजना संयोजक सोम गुरुङ्ग र सेभ द चिल्ड्रेनका परियोजना संयोजक बाले बिश्वकर्मा, शैक्षणिक श्रोत ब्यक्ति गोरखनाथ आर्चाय र नारायण अधिकारी,शिक्षा अधिकृत हर्क विक, प्रेम रावत र मिल कोर्डिनेटर अर्चना गौतमले सहजीकरण गर्नु भएको थियो । सो तालिममा छेडागाड नगरपालिका वडा नं १ देखि वडा नं.६ का विद्यालयका २५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
सो तालिममा सहभागी विरेन्द्र आविका प्राधानाध्यापक हर्क बहादुर बुढाले यस तालिमले सकारात्मक अनुशासन र सामाजिक संवेगात्मक सिकाइ सम्बन्धि बारे जानकारी पाएको बताए । साथै उहाँले आफनो शिक्षण पेशाको तीन दशक बिताए पनि यो तालिमले थप उर्जा र हौशला प्रदान गरेको हुदाँ आफनो विद्यालयमा गएर विद्यार्थी, अभिभावक र विद्यालय ब्यवस्थापन समितिका सदस्य, शिक्षक र बालबालिकालाई सहभागी गराएर तालिमको आयोजना गर्ने बताउनुभयो । त्यसैगरि अर्का सहभागी दिेपेन्द्र आविका निर्मला थापाले यस तालिमले विद्यालयमा कसरी सकारात्मक अनुशासन कायम गरि शिक्षण गर्न सकिन्छ भन्ने कुरा थाहा भएको बताईन् ।
त्यसैगरि जेठ २८ गते देखि वडा नं.७ देखि वडा नं.१३ का शिक्षकहरुको लागि तालिम आयोजना हुने भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले छेडागाड नगरपालिकामा सहयात्रा दोश्रो परियोजना सम्पन्न गरि हाल सहयात्रा तेश्रो परियोजना सन्चालन गरिरहेको संस्थाका कार्यक्रम ब्यवस्थापक पुस्पराज खतिवडाले जानकारी दिनुभयो ।