सचेतनाको लागि माईकिङ्ग गर्दै सहयात्री नेपाल र नेपाल युनाईटस

|

नेपालगन्ज / “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आइतवार सम्पन्न भएको छ । आज १० डिसेम्बर अर्थात ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानव अधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने कुरामा जोड दिइएको छ ।

दिवसको अवसरमा सहयात्री नेपाल, नेपाल युनाईट्स र एनआरएनए अष्ट्रेलिया नारी कुन्जको सहयोगमा आज आइतबार नेपालगन्ज बजार क्षेत्रमा लैङ्गिक हिंसा विरुद्धको नाराहरु बारे माईकिङ्ग गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका परिसरमा दिप प्रज्वलन कार्यक्रमका सहभागीले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको बताएका थिए ।

नेपालको संविधानले मौलिक हकमा गरेको व्यवस्था अनुसार त्यसको पुर्ण कार्यान्वयनका लागि सरोकारवाला निकायलाई जोड दिइएको थियो । कार्यक्रममा अधिकारकर्मी, सामाजिक अभियन्ता, युवा, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यस दिवस मनाउने गरिन्छ । यस वर्ष ‘भविष्यमा मानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको हो ।

२०८० मंसिर २४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।