नेपालगञ्ज । लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसरमा नेपालगञ्जस्थित श्री शारदा आधारभूत बिद्यालयमा अभिमुखिरण कार्यक्रम गरिएको छ ।
अभियानको अवसर पारेर बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई लैंङ्गिक हिंसा र मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका बारेमा सोमबार अभिमुखिकरण गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० स्थित मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको समितिको आयोजना र माइती नेपालको प्राविधिक सहयोगमा संचालन गरिएको अभिमुखिकरणको उद्घाटनमा बोल्दै वडा अध्यक्ष बिन्दु भुषण बस्नेतले बालबालिकाले राम्रा कुराहरु सिक्नुपर्ने बताउनुभयो ।
उहाँले बिद्यार्थीहरु अहिलेदेखि नै गर्न नहुने कामहरुका बारेमा जानकारी पाईराख्नु समस्या आउनै नदिने उपायका रुपमा हुने बताउनुभयो ।
यस्तै वडा सचिव शान्ति केसीले मानव बेचबिखन तथा लैंङ्गिक हिंसा बढ्दो क्रममा रहेकाले यसको नियन्त्रणमा बिद्यार्थीको भूमिका आवश्यक रहेको बताउनुभयो ।
अभिमुखिकरणलाई माइती नेपालका फिल्ड संयोजक भिष्म लोधले सहजीकरण गर्नुभएको थियो । घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने नाराका साथ बिश्वभर नोभेम्बर २५ देखि डिसेम्बर ११ सम्म महिला हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।






