कारको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

|

नेपालगञ्ज /  कारको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयामा कारको ठक्करबाट दाङ तुलसीपुर उपमहानगरपालिका–२ का ४० वर्षीय हुकुम डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस रोकेर पिसाब फेर्न सडक पार गर्दा गर्दै आइतबार राती ९ बजे डाँगीलाई प्रदेश ३–०१–०२२ च ५८८४ नम्बरको कारले ठक्कर दिएको थियो । त्यसपछि गम्भीर घाइते भएका डाँगीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ना ७ ख ३३९ नं को बस पूर्वबाट पश्चिम तर्फ आइरहेको थियो । सोही दिशाबाट आइरहेको कारले डाँगीलाई ठक्कर दिएको हो । कारसहित चालक भने प्रहरी चौकी अगैयाको नियन्त्रणमा रहेका छन् ।

२०७८ मंसिर १९, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।