वरिष्ठ गायिका चन्द्रकला शाहलाई राष्ट्रिय संगीत पुरस्कार-२०७८

|

काठमाडौं । वरिष्ठ गायिका चन्द्रकला शाहलाई राष्ट्रिय–संगीत पुरस्कार–२०७८ बाट सम्मान गरिएको छ । गीत–संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै ७२ वर्षीया गायिका शाहलाई सम्मान गरिएको हो ।

काठमाडौंमा आज ९मंगलबार० आयोजित एक कार्यक्रममा उनलाई टीका–गोपाल डिजिटल एम क्रियसनले सम्मान गरेको हो । कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले शाहलाई नगद ५१ हजार रुपैयाँ, ताम्रपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरे ।

वरिष्ठ संगीतकार बास्कोटाले सरकारले गीत–संगीत तथा कलाकारिता क्षेत्रको सम्मान गर्न नसकेको गुनासो गरे । उनले निजी क्षेत्रबाट स्थापना भएका संघ–संस्थाहरूले कलाकारको भावना बुझ्न सकेको भन्दै प्रशंसासमेत गरेका छन् । उनले रेडियो नेपालमा २९ वर्षसम्म काम गरेकी शाहलाई एक्कासि निकालेर सरकारले अपमान गरेको गुनासो पनि गरे ।

सम्मानित व्यक्तित्व वरिष्ठ गायिका शाहले गीत–संगीत क्षेत्रमा गरेको कामको उच्च मूल्यांकन गर्दै आफूलाई सम्मान गरेकामा खुसी व्यक्त गरिन् । गायिका शाहले २०३२ सालमा रेडियो नेपालमा कार्यरत रहदाँदेखि गीत–संगीतको क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन् ।

गायक तथा संगीतकार कन्हैयासिंह परियारले आफ्ना मातापिता ९टीका–गोपाल० को सम्झनामा गायक–गायिकाको सम्मान गर्न भन्दै राष्ट्रिय संगीत पुरस्कारको स्थापना गरेका हुन् । उनले अग्रज कलाकारलाई प्रत्येक वर्ष सम्मान गरिने पनि कार्यक्रममा घोषणा गरेका छन् । कार्यक्रममा गायक तथा संगीतकार कन्हैयासिंहले आफ्नो जन्मदिनमा साथीभाइबाट प्राप्त नगद उपहारलाई गायिका शाहको सम्मानमा प्रयोग गर्न पाउँदा खुसी मिलेको बताए ।

आमाबुबाको सम्झनामा स्थापना गरिएको यो सम्मानलाई हरेक वर्ष गीत–संगीतको क्षेत्रमा योगदान पुर्याउने कलाकारलाई समर्पित गरिने पनि गायक तथा संगीतकार कन्हैयासिंहले जानकारी दियो । वरिष्ठ कलाकारलाई सम्मान गर्न पाउनु आफ्नो अहोभाग्य रहेको भन्दै कन्हैयाले भने, ‘आमाबुबाको सम्झनामा पुरस्कार स्थापना त गरियो, यसलाई निरन्तरता दिन चुनौती छ । तर पनि म हरेक वर्ष प्रदान गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’

सम्मान कार्यक्रममा गायक तथा संगीतकार भीमार्जुन आचार्यले गीत–संगीत क्षेत्र उत्साहित हुनेगरी सरकारले विशेष नीति ल्याउनुपर्नेमा जोड दिए । निर्देशक माधव खरेलले गायक–गायिका तथा कलाकारलाई सरकारले उपेक्षा गर्न नहुने बताए । सम्मान कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हेम सुवेदीले गरेका थिए ।

२०७८ कार्तिक ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।